प्रचण्डले मागे अर्थमन्त्री जनार्दनको राजिनामा

जनार्दन अर्थमन्त्रीमा रहिरहे थप बदनाम हुन सक्ने प्रचण्डको भनाइ

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको राजीनामा मागेका छन् । आइतबार आफ्नै निवास खुमलटाल बोलाएर प्रचण्डले अर्थमन्त्री जनार्दनको राजिनामा माग गरेको स्रोतले बतायो ।

अर्थमन्त्रीमा थप बसे थप बदनाम हुने बन्दै प्रचण्डले सोमबार वा मंगलबार प्रतिनिधिसभामा साम्सदहरुले उठाएका प्रश्नको जवाफ दिएर राजीनामा दिन प्रचण्डले अर्थमन्त्री शर्मालाई सुझाएका छन् । यसअघि राजिनामा दिन्न भन्दै आएका जनार्दन खुमलटारबाट केही जवाफ नदिएर फर्किएका छन् ।

पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर अनौपचारिक छलफल सुरु भएको अर्का एक शीर्ष नेताले बताए ।

‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, अध्यक्षले पनि यसबारेमा सोच्छु भन्नुभएको छ ।’

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले र शर्माबीच आइतबार दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अर्थमन्त्री शर्मा आइतबार दिउँसो चार बजे आएर करिब दुई घण्टा प्रचण्ड निवासमा बसेर गएको पुष्टि गरे । तर छलफलबारे भने आफूलाई कुनै जानकारी नभएको बताए ।

अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना भइरहेको छ ।

यसअघि नै शर्मालाई हटाउने कोसिस भएको भए पनि बजेट ल्याउने बेलामा नराम्रो सन्देश जाने भन्दै त्यसलाई बजेटपछि सारिएको थियो ।

३० जेठ २०७९, सोमवार ००:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु