प्रधानन्यायाधीशलाई सर्बोच्चमा प्रवेश नदिन बैकल्पिक बाटो पनि ब्लक !

आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्बोच्च अदालत प्रवेश नदिन बैकल्पिक बाटो पनि ब्लक गर्ने तयारी छ ।

जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको नेपाल बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर जबरा अर्को बैकल्पिक गेटबाट सर्वोच्च छिरेका थिए । तर आज जबरा छिर्ने बैकल्पिक गेटमा पनि अवरोध गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन । ‘सकेसम्म सर्वोच्च अदालतभित्रै छिरेर गेटमा धर्ना दिन्छौं । गत शुक्रबारजस्तै प्रहरी खटाएर भित्र जान रोके भने बाहिरै धर्नालाई जारी राख्छौं,’ उनले भने, “शुक्रबार प्रधानन्यायाधीश प्रवेश गरेको बैकल्पिक गेटमा पनि अवरोध गर्छौ|”

सर्बोच्च अदालत भवन र नेपाल बार एसोसिएसन भवनबीच सानो गेट छ । सर्वोच्च अदालत प्रवेश गर्न कानुन व्यवसायीले प्रयोग गर्ने उक्त गेटलाई शुक्रबार सर्वोच्च प्रशासनले बन्द गरिदिएको थियो ।

जसका कारण कानुन व्यवसायी सर्वोच्चमा छिर्न पाएनन् र उनीहरू मुख्य गेटमा पुगेर विरोध प्रदर्शन जारी राखे । बार अध्यक्ष श्रेष्ठले उक्त गेट खोल्न शुक्रबार नै सर्वोच्च प्रशासनलाई भनिसकेको र आइतबार पनि बन्द गरिए सडकबाटै मुख्य गेटमा धर्ना दिने बताए ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले पनि बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिइने बताए ।

नेपाल बारले यहि कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । सर्वोच्च अदालतका २० मध्ये प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीशले पनि जबराको राजीनामा माग गर्दै आएका छन् ।

२८ कात्तिक २०७८, आइतवार ०८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु