महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने
३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको बताए ।
प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो ।
छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका थिए । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् ।
३ साउन २०७८, आइतवार १७:५८ बजे प्रकाशित





