महान्यायाधिवक्ता खातीको शपथ शीतलनिवासमा गर्न राष्ट्रपतिद्वारा अस्वीकार

१ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेका महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शीतलनिवासमा गर्न राष्ट्रपति भण्डारी आफैँले अस्वीकार गरेकी छन्।

महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन छ।

यद्यपि राष्ट्रपति कार्यालयमा शपथका लागि समय माग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्तिथिमा महान्यायाधिवक्ताको शपथ गराउन अनिच्छा जाहेर गरेकी थिइन्।

उनले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी थिइन्। राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र पनि पठाएको थियो।

महान्यायाधिवक्ता नियुक्त खम्मबहादुर खातीले राष्ट्रपति कार्यालयबाट परिपत्र आएपछि सर्वोच्च अदालतमै शपथको तयारी भएको जानकारी  दिए।

यसअघिका महान्यायधिवक्ताहरुको शपथ राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले गराउने परम्परा छ।

यसअघिका महान्यायाधिवक्ता रमेश बडालको शपथ पनि राष्ट्रपति कार्यालयमै प्रधान न्यायाधीशले गराएका थिए।

यद्यपि राष्ट्रपति कार्यालयले भने यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमै भएको स्मरण गराउँदै शीतलनिवासमा महान्यायाधिवक्ता खातीको शपथ गर्न अस्वीकार गरेको हो।

राष्ट्रपति भण्डारीले अनिच्छा जाहेर गरेपछि सर्वोच्च अदालतमै शुक्रबार दिउँसो २:१५ मा महान्यायाधिवक्ता खातीको शपथ ग्रहण प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले गर्ने कार्यक्रम तय भएको छ।

महान्यायाधिवक्ताले सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा काम गर्छन्।

१ साउन २०७८, शुक्रवार १४:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु