एमाले विभाजन रोक्न प्रयास नगर्न भीम रावललाई धम्कीपूर्ण फोन

३० असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विभाजन रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट दबाब र धम्कीपूर्ण फोन आएको बताएका छन् ।

उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष रावलले एमाले कतै विभाजनबाट रोकिने भयले कतिपयलाई देखिने र बुझिने गरी रिगटा लागिरहेको बताएका छन् ।

रावलले भनेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ ।’ एमाले कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरेको थियो ।

पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूलाई कार्यबाहक अध्यक्ष बनाउने विषयमा कुनै कुरा नभएको रावलले स्पष्ट पारेका छन् ।

विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति रावलले आपत्ति जनाएका छन् । ‘पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरूले नै मेरोविरुद्ध झूटा प्रचार घृणित तहमा झरेर गरेका हुन्,’ विज्ञप्तिमा उल्लेख छ ।

माधव नेपाल समूहका नेता रावलको ओलीसँग निकटता बढेको र उनले पदकै लागि कार्यदलमा सहमति गरेको भन्दै टिप्पणी भइरहेका छन् । तर उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार प्रकाशित गरिएको बताएका छन् ।

एमाले नेता रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले ओलीसँगको भेटमा पदका बारेमा छलफल नै नभएको बताए ।

३० असार २०७८, बुधवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु