केपी ओलीले छाडे बालुवाटार, बालकोट ओसार्न थाले सामान

प्रधानमन्त्रीमा शेरबहादुर देउवाको सपथको तयारी

२८ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास वालुवाटार छोड्ने तयारी गरेका छन् । उनले आफ्नो निवास भक्तपुरस्थित वालकोट सामान ओसार्न थालेका छन् ।

ओली सोमबार मात्रै सर्वोच्च अदालतको फैसलासंगै पदमुक्त भएका हुन् ।

सर्वोच्चले ले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै सर्वोच्चले संसद पुनस्र्थापना हुने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलत संवैधानिक इजलासले साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।

सर्वोच्चले धारा ७६ –५ को प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित दावी पेश गरेकाले राष्ट्रपतिले उनलाई नियुक्ति नगर्नु संविधान विपरीत भएको पनि ठहर गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली धारा ७६ –३ अनुसार संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेको र उनले विश्वसको मत नलिएका कारण धारा ७६ –५ मा उनले दावी गर्न नमिल्ने पनि फैसलामा उल्लेख गरिएको छ ।

सर्वोच्चको यस्तो आदेश आएसंगै ओलीले प्रधानमन्त्री निवास छोड्ने तयारी गरेका हुन् ।

२८ असार २०७८, सोमवार २३:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु