एमाले कार्यदल बैठकमा के-के भयो निर्णय ?

२३ असार, काठमाडौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठक सकारात्मक रहेको र बिहीबारसम्म सबै विवाद टुंग्याउने प्रयास भएको अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘अहिले नेताहरूसँग उहाँहरूका कुरा, भावना बुझ्ने काम पनि भइरहेको छ दुवैतर्फ । अहिलेसम्मका छलफल सकारात्मक भएको हुँदा बिहीबारसम्म टुंग्याउने गरी लाग्छौं,’ कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने । बैठकअघि वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षका कार्यदल संयोजक भीम रावलले कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए ।
कार्यदलमा केन्द्रीय कमिटीको संख्या, पूर्वमाओवादी नेताहरूको व्यवस्थापन, सर्वोच्च अदालतमा दायर रिटको हकमा भाषा मिलाउनेलगायत विषयमा छलफल भएको छ ।
कार्यदलको बैठक सोमबार र मंगलबार पनि सिंहदरबारमै बसेको थियो । पहिलो दिन कार्यदलका नेताहरूबीच अनौपचारिक तहमा भएका विषयवस्तुबारे छलफल भएको थियो भने दोस्रो दिन सहमति जुटाउन खोजिएका विषयमा कार्यदल सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए ।
एमालेले पार्टी विवाद समाधानका लागि जेठ २ मा १० सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा संस्थापन पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट कार्यदलमा रावलसहित सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त छन् ।
नेपालपक्षका कार्यदल सदस्य गोकर्ण विष्टले पनि बैठक सकारात्मक भएको र विवाद रहेका मुद्दामा समाधाननजिक पुगेको बताए ।
‘तीन दिनदेखि कार्यदलले काम गरेको छ । तेस्रो बैठकसम्म आइपुग्दा जुन–जुन मुद्दामा विवाद देखापरेको थियो ती मुद्दामा झन्डै–झन्डै निष्कर्षमा पुगिरहेका छौं,’ विष्टले भने, ‘र छोटो अवधिमा सबै विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन र सार्थक परिणाम निकाल्न सक्छौं भन्ने कुराको विश्वास आर्जन भएको छ । बैठक सकारात्मक रूपमा अगाडि बढेको छ ।’
२३ असार २०७८, बुधवार १४:०९ बजे प्रकाशित