प्रधानमन्त्रीका कुराको जवाफ फर्काएर समयको बर्बाद नगर्ने सभामुखको तर्क
संकटमा सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन किमार्थ स्वीकार्य छैन

१५ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् ।
मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताए ।
अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।
सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएर समय बर्बाद गर्नतिर नलाग्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सभामुख सापकोटा, विपक्षी दलका नेताहरू, सर्वोच्च अदालतका न्यायाधीश लगायतका बारेमा पछिल्लो समय भाषाको मर्यादा नाघेर टिप्पणी गर्दै आएका छन् ।
सम्पादकहरूसँगको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुखले प्रधानमन्त्रीका कुराको जवाफ फर्काएर समयको बर्बाद नगर्ने बताएका थिए ।
त्यस्तै, राज्यका तीन मुख्य अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको पनि सभामुखले बताएका छन् ।
संघीय संसद् भवनमा भएको छलफलका क्रममा उनले भने, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको छ ।’
मुलुक संकटमा रहेको बेला संसद्ले काम गर्न नपाएको र बारम्बार विघटन गरिएको उल्लेख गर्दै सभामुखले भने, ‘संकटमा सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन किमार्थ स्वीकार्य छैन ।’
प्रतिनिधिसभा विघटन लगायतका घटनामा आफूले कस्तो भूमिका खेल्न सकिन्छ भनेर छलफल र परामर्शमा रहेको सभामुख सापकोटाले बताएका छन् ।
उनले भने, ‘संविधानको परिधिभित्र रहेर आवश्यक पर्दाखेरि कसरी जान सकिन्छ भन्ने भूमिकाको विषयमा छलफल गरिरहेको छु ।’
सभामुखले प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि कानुन व्यवसायी, पूर्व सभामुखहरू, पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका छन् ।
आगामी दिनमा पनि विभिन्न क्षेत्रका व्यक्तिहरूसँग यस विषयमा छलफल गर्ने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
१५ असार २०७८, मंगलवार १७:०६ बजे प्रकाशित