ओलीले बोलाए आयोजक कमिटीको बैठक

१३ असार, काठमाडौं । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आगामी असार १६ गते बोलाएको छ ।

आज बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलदेखि १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक  असार १६ गते  बोलाउने निर्णय गरेको हो ।

गत जेठ २७ गते सर्वोच्च अदालतले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी मान्य नभएको भन्दै उक्त कमिटीले गरेको निर्णय समेत बदर गर्न आदेश दिएको थियो ।

तर सर्वोच्चको उक्त निर्णय अमान्य हुने भन्दै ओली पक्षले सर्वोच्चमा पुनः भ्याकेट निवेदन समेत दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रवक्ता प्रदिप ज्ञवालीले त्यसबारे जानकारी दिएका हुन् । प्रवक्ता ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् ।

आयोजक कमिटीको बैठक काठमाडौमा बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

“बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिती, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तीहरु र राष्ट्रिय राजनीतिको विभिन्न आयामहरुका विषयमा संक्षिप्त तर गहन रुपमा छलफल गरेका छौँ ।

यो विषयमा थप केहि निर्णयहरु गर्न आवश्यक भएको र थप अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केहि निर्णयहरु निकाल्नुपर्ने भएकाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंंमा बस्ने गरि बैठक बोलाइएको छ ।” उनले भने ।

१३ असार २०७८, आइतवार ११:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु