यी हुन् कांग्रेसमा पौडेल समूहबाट नेतृत्वका दाबेदार

१२ असार, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्।
सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्द्र पौडेलसहित सबै प्रभावशाली नेताले नेतृत्वमा दाबी गरेका हुन्।
नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्।
भेलामा १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित पौडेलले १४औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बन्ने अवसर दिनुपर्ने बताए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट ७ जनाले सभापतिमा दाबी पेस गरेका छन् । शुक्रबारको भेलामा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमानसिंह, पूर्वसहमहामन्त्रीहरु प्रकाशशरण महत र अर्जुननरसिंह केसी, शेखर कोइराला र सुजता कोइरालाले नेतृत्वका लागि दाबी पेस गरेका हुन्।
महत र केसीले भने नेतृत्वको लागि दाबी पेस गरेपनि सहमतिका लागि बाधक नबन्ने बताए।संस्थापन इतर समूहबाट एकभन्दा बढी उम्मेदवार भए आफूहरू पनि उम्मेदवार बन्ने महत र केसीले बताएका थिए।
पौडेलले आफू र सभापति देउवालाई एकै ठाउँमा राखेर नहेर्न भन्दै नेतृत्वमा पुग्न सहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ। पौडेलले सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी आफ्नो चाहना रहेको बताएको जानकारी एक सहभागीले दिए।
महामन्त्री शशांकले पार्टी नेतृत्वका लागि आफू स्वाभाविक दाबेदार रहेको बताउँदै तीन नेताबीच भइरहेको छलफलको जानकारी भेलालाई गराएका थिए।
पूर्वमहामन्त्री सिंहले आफूले नेतृत्वको प्रतिस्पर्धामा रहेको जानकारी नेताहरूलाई धेरै पहिलादेखि गराउँदै आएको बताउँदै कार्यकर्ताले अब देउवाबाट मात्र होइन, पौडेलबाट पनि पार्टी चल्दैन भन्न थालेको धारणा राखेका थिए।
नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका उनले पनि आफूलाई पार्टीको नेतृत्वमा पुग्न सहयोग गर्न आग्रह गरेका थिए।
१२ असार २०७८, शनिवार १०:४८ बजे प्रकाशित