कांग्रेसका यी तीन नेता जो एउटै टिम बनाएर अघि बढ्न तयार

११ असार, काठमाडौं ।  नेपाली कांग्रेसको तीन नेता (विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह)ले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जान सकिने संकेत गरेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको हो ।

८ असारमा उपसभापति निधिको निवासमा भेटेका यी तीन नेताहरु शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भेला भएका छन् । भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको छ ।

तीनै नेता  नेपाली कांग्रेस पार्टीका कुनैबेला नेतृत्व गरिसकेका तीन पिताका पुत्र हुन ।बीपी, गणेशमान र महेन्द्र नारायणका तीन छोरा आफै पनि नेतृत्वको आकांक्षी हुन ।

तर १३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा जुटेका हुन् ।

आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न कटिबद्ध बनेर लागेका तीन नेताबीचको छलफलले पार्टीभित्र नयाँ तरंग सृजना गरेको छ ।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’

‘हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भावना छ,’ भेटपछि महामन्त्री कोइरालाले भने ।

अब तपाईंहरू एउटै टिम बनाएर जाने कि भन्ने  विषयमा पूर्वउपसभापति सिंहले सकारात्मक छलफल भइरहेको बताए । यद्यपि कसको नेतृत्व भन्नेबारे सहमति हुन समय लाग्ने पूर्वमहामन्त्री सिंहले बताए ।

उनले भने, ‘समय आएपछि त्यो हुन्छ । एक-दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’

उनले आफूहरुमाथि परिवारवादलाई प्रश्रय दिएको आरोप खारेज गरे । ‘हामी आफैं सक्रिय राजनीति गरेर चुनाव लडेर आएका हौं, कसरी परिवारवाद भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।

सिंहले भने , ‘पार्टीलाई देशको एक नम्बरको पार्टी बनाउनु पर्छ भन्ने जनताको चाहना छ । कार्यकर्ताको चाहना छ । लोकतन्त्र र कांग्रेसको हितमा कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्नेबारे हामी छलफल गर्दैछौं ।’

शेरबहादुर देउवाको हातबाट नेतृत्व तल्लो तहमा ल्याउन तीनै नेता तयार देखिए पनि सभापतिका आकांक्षी उनीहरुले कसले कसलाई नेतृत्व छाड्न तयार होलान् त्यो भने अहिले नै प्रष्ट देखिन्न ।

यद्यपि, नेतृत्व हस्तान्तरणको मुद्दा बनाएर बहस चलाइरहेका युवा पुस्ता पनि यो पहलकदमीबाट उत्साहित भने देखिएको छ । सोमबार नै निधिले गरेको छलफलमा युवा नेताहरुले तल्लो तहमा नेतृत्व ल्याउन आफूहरुले सघाउने बताएका थिए ।

आफ्नो उम्मेदवारीका लागि शुरुमा सभापति देउवासँग समर्थन मागेका निधिलाई १४ औं महाधिवेशनमा पनि आफै उम्मेदवार रहने भन्दै सघाउन भनेपछि निधि देउवाको शिविरबाट अलग्गिँदै अरु दुई नेतासँग छलफलमा बसेका हुन् ।

११ असार २०७८, शुक्रवार १६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु