आज संवैधानिक इजलासमा संसद विघटनविरुद्धको रिटमथि बहस गर्ने अधिवक्ताहरु

११ असार, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईमा रिट निवेदकको तर्फबाट आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहसको आज अन्तिम दिन हो ।

हरेक दिन ४ घण्टामात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ कानुन व्यवसायीहरुलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ ।

रिटको पक्षमा बहस गर्न वकालतनामा बुझाएका कानुन व्यवसायीहरुको छलफलबाटै २९ जना कानुन व्यवसायीलाई बहसको समय तोकिएको हो ।

आजको इजलासमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेल, बाबुराम कुँवर, पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता डा. भीमार्जुन आचार्य तथा टिकाराम भट्टराईले बहस गर्नेछन् ।

बिहीबारको इजलासमा वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए ।

आज वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०/३० मिनेट बहस गर्नुहुनेछ । त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०/२० मिनेट बहस गर्नुहुनेछ भने अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट समय छुट्याइएको छ ।

अन्य कानुन व्यवसायीहरुलाई न्यूतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । इजलासले बहस व्यवस्थापनका लागि जारी गरेको आदेश अनुसार रिट निवेदक पक्षको सुरुवती बहस आजै सकिनेछ ।

आइतबारदेखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछन् ।

११ असार २०७८, शुक्रवार ११:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु