यादव पक्षद्वारा जसपाबाट नौ जना मन्त्रीलाई निष्कासन (नामावलीसहित)

अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारमा सहभागी नौ जना मन्त्रीलाई जनता समाजवादी पार्टी (जसपा)बाट निष्कासन गरेको छ।
बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा सहभागी नौ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले बताए।
बहुमत केन्द्रीय सदस्यको बैठकले गरेको निर्णयमा भनिएको छ, “पार्टी निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरिएको छ।”
निष्कासनमा परेका नौ जना नेतामा शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्दा चौधरी, विमलप्रसाद श्रीवास्तव, चन्द्रकान्त चौधरी र रेणुका गुरुङ रहेका छन्। उनीहरूलाई २९ जेठमा स्पष्टीकरण सोधिएको थियो।
यादव पक्षले सरकारमा सहभागी राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई यसअघि नै जसपाबाट निष्कासन गरिसकेको छ। महतो उपप्रधान तथा शहरी विकासमन्त्री र कर्ण भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री छन्।
जसपामा विवाद नहुँदा अध्यक्षद्वय महन्थ ठाकुर र यादवले ओली सरकारमा सहभागी नहुने निर्णय गरेका थिए। ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय समेत गरेका थिए।
त्यही निर्णयका आधारमा यादव पक्षले पार्टीबाट निष्कासन गरेको हो। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ३० जना सहभागी थिए।
आजै बसेको बैठकले लुम्बिनी प्रदेशका ४ सांसदहरूलाई पुनः स्पष्टिकरण सोध्ने निर्णयसमेत गरेको छ ।
चौरासियाका अनुसार पार्टी आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने, चुरे दोहन गर्न नहुने र बाढी पहिरो पीडितलाई उद्दार र राहतका लागि सरकारलाई आग्रह गर्ने थप निर्णय गरेको हो । जसपाको केन्द्रीय कार्यकारिणीमा उपेन्द्र यादव पक्षको बहुमत छ ।
३ असार २०७८, बिहीवार १८:४९ बजे प्रकाशित