नयाँ सरकार निर्माण, नीति तथा कार्यक्रम र बजेटबारे संसदीय दलको छलफल जारी

नेकपा एमाले नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक शुरू भएको छ ।  नेकपा एमालेले आफैं सरकार निर्माण प्रयास थालेको छ। माओवादी नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि नयाँ सरकार बनाउने गरी एमालेले छलफल थालेको हो।

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बसेको हो । प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि आपसी सल्लाह गर्न बैठक बोलाइएको प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।

यस अघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभा पारित भएपछि संसदीय दलको बैठकमा उपस्थित हुने बताइए पनि सर्वोच्चको आदेश अनुसार पुनर्बहाली भएकामध्ये  माधव नेपाल समूहका सांसद प्रकाश ज्वाला  बैठकमा सहभागी भएका छन् ।

यसअघि उनीसहित पुनर्बहाली भएका चार सांसदले बैठकमा सहभागी हुन अस्वीकार गरेपनि अन्तिम समयमा आएर ज्वाला सहभागी भएका हुन् ।बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन् ।

नयाँ सरकार निर्माण, नीति तथा कार्यक्रम र बजेटलाई लिएर अहिले सुर्खेतमा एमाले संसदीय दलको बैठक बसिरहेको छ। बैठकले सरकारको नीति तथा कार्यक्रम बारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक शाहले जानकारी दिए ।

एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीन जनालाई शाहीले मन्त्री बनाएका थिए। शाही सरकारमा मन्त्री रहेका एमाले सांसदहरु अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा दलको बैठकमा सहभागी छैनन्।

 

१ असार २०७८, मंगलवार १४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु