ओली सरकारमा सहभागी मन्त्रीलाई कारबाही गर्ने उपेन्द्र पक्षको तयारी

३० जेठ, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीलाई कारबाही गर्ने तयारी गरेको छ।

पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै उपेन्द्र पक्षले नौजना मन्त्रीलाई कारबाहीको तयारी थालेको हो।

जसपा कार्यकारिणी सदस्य रामसहाय यादवले पार्टी निर्णयविपरीत सरकारमा मन्त्री बनेकाहरूलाई कारबाही गर्ने तयारी सुरू भएको बताए।

‘उहाँहरूलाई स्पष्टीकरण सोध्ने कुरा भएको छ, आजभोलिमा थाहा पाइहाल्नु हुन्छ,’ यादवले भने।

यसअघि बसेको जसपा कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी भए साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

त्यसैगरी कार्यकारिणी समिति बैठकले जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको थियो।

स्पष्टीकरणको जवाफ नदिएको भन्दै उपेन्द्र पक्षले चारैजनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। सरकारमा गएका बाँकी नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको कार्यकारिणी सदस्य यादवले बताए।

सरकारमा गएका शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव, चन्दा चौधरी तथा राज्यमन्त्री चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने तयारी उपेन्द्र पक्षले गरेको छ।

३० जेठ २०७८, आइतवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु