महन्थ ठाकुरको केन्द्रीय पदाधिकारीमा बहुमत पुगेन, निर्वाचन आयोगसंग थप एक साता समय माग

दल विभाजन गर्न कम्तीमा ४० प्रतिशत केन्द्रीय समिति सदस्य आवश्यक

२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आयोगसंग थप एक साता समय मागेका छन् ।

जसपाका अध्यक्षद्धय ठाकुर र उपेन्द्र यादव समुहले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता कितावमा रहेको विवरण सच्याउन आग्रह गरेपछि निर्वाचन आयोगले यहि जेठ १९ गते दुबै अध्यक्षलाई पत्र लेखेर सात दिनभित्र थप विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।

अध्यक्ष ठाकुरसंग केन्द्रीय पदाधिकारीको हस्ताक्षर र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनिएको थियो ।

केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाएका अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनिएको थियो ।

उपेन्द्र यादवले अनुचुची १८ बमोजिम समयमै विवरण पठाएको तर महन्थ ठाकुरबाट विवरण प्राप्त नभएको र थप एक साता समय माग भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जेठ १८ गते अध्यक्ष ठाकुरले आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर उनले केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाएका थिएनन् ।

यस्तै जेठ १८ गते नै अर्का अध्यक्ष उपेन्द्र यादवले पनि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए ।

कारबाहीको निर्णय गर्दा यादवले केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसहित बुझाएका थिए ।महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसहित बुझाएका थिएनन् ।

त्यसपछि आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न आग्रह गरेको हो ।

उक्त अनुसूची १८ मा दलको विवरण हेरफेर भएको निवेदन दिने ढाँचा समावेश छ ।

के छ कानुनी व्यवस्था ?

राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कुनै पनि दल विभाजन गर्न कम्तीमा ४० प्रतिशत केन्द्रीय समितिको सदस्य तथा ४० प्रतिशत प्रतिनिधिसभा संसद् सदस्य आवश्यक पर्छ ।

अहिले प्रतिनिधिसभा विघटन भएको छ । त्यसकारण दल विभाजन गर्न चाहेको खण्डमा ४० प्रतिशत केन्द्रीय समितिको सदस्य चाहिन्छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति समितिमा ५१ सदस्यीय छ । एक जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रेशम चौधरी जेलमा छन् ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति समितिमा ठाकुर र यादव दुबैले आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन् ।

तर, निर्वाचन आयोगले कसको दाबी सही भनेर ठहर्याएको छैन । यहि निक्र्योल गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले महन्थ ठाकुरसंग केन्द्रीय पदाधिकारीको हस्ताक्षर माग गरेको हो ।

२५ जेठ २०७८, मंगलवार १६:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु