अब बरु कांग्रेससँग एकता होला, माधव नेपालसँग हुँदैन : सूर्य थापा

२५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब माधव नेपाल समूहसँग एकता हुने सम्भावना सकिएको बताएका छन्।
अध्यक्ष ओलीले पार्टीमा एकताका लागि राखेको ६ बुँदे प्रस्तावको जवाफ दिँदै नेता नेपालले सोमबार विभिन्न सर्त तेर्स्याएका छन्।
त्यसको भोलिपल्ट मंगलबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ती सर्त स्वीकार गर्न नसकिने बताएका हुन्।
त्यस आधारमा त बरु नेपाली कांग्रेससँग एकता हुन सक्ने माधव नेपाल समूहसँग हुन नसक्ने टिप्पणी उनले गरेका छन्।
‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव नेपालका सर्त स्वीकारेर त एकता हुँदैन। यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला,’ प्रेस सल्लाहकार थापाले भनेका छन्, ‘तेल निकाल्न बालुवा होइन, तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोसिस छोडौं।’
२५ जेठ २०७८, मंगलवार १३:०७ बजे प्रकाशित