माओवादी केन्द्रसंग चुनावी गठबन्धनको पहल गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले एकता कायम राख्न एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।

आफुलाई भेट्न सितल निवास आएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले यस्तो सुझाव दिएकी हुन् । एमाले एकता कायम राखेर आगामी चुनावको तयारीमा लाग्नुपर्ने राष्ट्रपतिको सुझाव छ ।

साथसाथै राष्ट्रपति भण्डारीले माओवादी केन्द्रसंग चुनावी गठबन्धनको पहल गर्न समेत प्रधानमन्त्री ओलीलाई सुझाएकी छन् ।

एमाले नफुट्दा र माधव नेपाल एमालेमा रहँदा माओवादी केन्द्रसंग चुनावी गठबन्धनको संभावना रहेको भन्दै राष्ट्रपतिले यस्तो सुझाव दिएको स्रोतको दाबी छ । माओवादीसंगको चुनावी गठबन्धनका लागि एमाले एकता अपरिहार्य रहेकोमा राष्ट्रपतिको जोड रहेको दाबी गर्दै स्रोत भन्छ, ‘ माओवादी केन्द्रसंग चुनावी गठबन्धनको संभावना छ । यसको लागि आवश्यक पहल गर्न आवश्यक छ ।’

माओवादी केन्द्रसंग चुनावी गठबन्धन गर्न नसकेको खण्डमा कांग्रेस सबैभन्दा ठूलो पार्टीका रुपमा आउने र कम्युनिस्ट पार्टीहरु सरकारमा सहभागि मात्रै भएर रहनुपर्ने अवस्था आउने, त्यसमा एमाले प्रतिपक्षमा पुग्ने, अझ माधव नेपाल समुहले एमालेको भोट काट्ने स्थिति भएमा एमाले साह्रै सानो दलका रुपमा रहन सक्ने भएकाले आवश्यक त्याग गरेर भए पनि माधव नेपाल समुहलाई साथमा लिएर माओवादी केन्द्रसंग सकेसम्म चुनावी गठबन्धनको पहल गर्नुपर्ने सुझाव राष्ट्रपति भण्डारीको रहेको नेताहरुले बताएका छन् ।

एमाले एकताका लागि संसद विघटन फिर्ता लिनुपर्ने माधव नेपाल समुहको शर्त छ ।

यो शर्तका विषयमा समेत आवश्यक छलफल गर्न र निकास निकाल्न राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई सुझाएकी छन् ।

२५ जेठ २०७८, मंगलवार ११:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु