पार्टी एकता संकटमा परेको छ यसलाई जोगाउनुपर्ने आवश्यक देखिन्छ : ईश्वर पोखरेल

२३ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकता संकटमा परेको भन्दै उनले पार्टी एकतालाई जोगाउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।
पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन् ।
सरकारबाट बाहिरिएपछि आइतवार वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन् ।
पोखरेलले तत्कालीन नेकपा एकताप्रति व्यंग्य गर्दै भनेका छन्, ‘म नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव, तर ‘महान र ऐतिहासिक’ भनिएको एमाले-माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन ।
तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले-माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुन: एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु, म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।
‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्थालाई बदल्नुपर्ने बताएका छन् । ३ वर्ष ३ महिना ७ दिन सरकारमा रहँदा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले पार्टीको यो अवस्था बदल्नको लागि पार्टीको महासचिवको हैसियतले आफूले अभियान चलाउनु पर्ने उल्लेख गरेका छन्।
उपप्रधानमन्त्रीको हैसियतमा रहँदा आफूले सम्हालेको ‘उच्चस्तरीय समन्वय समिति’ र ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’मा संयोजकको भूमिकामा काम गरेका पोखरेलले सीसीएमसीको संयोजकको रूपमा प्राप्त सात महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४०० रुपैयाँ कोभिड कोषमा बुझाएको बताएका छन् ।
मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ जेठमा) बुझाइसकेको भन्दै पोखरेलले यस अवधिमा पार्टीको कोषमा आफूले ६ लाख ५ हजार रुपैयाँ योगदान गरेको उल्लेख गरेका छन् । शनिबार नै मन्त्री क्वार्टर समेत खाली गरिसकेको उनले बताएका छन् ।
२३ जेठ २०७८, आइतवार ११:२८ बजे प्रकाशित