प्रस्तावित मन्त्रालयबारे अरगरियाको असन्तुष्टि, भन्छन्– म गोजिको कार्यकर्ता होइन

२१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट मन्त्री बनाउन लागिएको भनिएका उमाशंकर अरगरियाले भने आफूलाई त्यसबारे जानकारी नभएको दाबी गरेका छन् ।

नेपालखबरसँग कुरा गर्दे अरगरियाले सरकारमा सहभागिताको विषयमा पार्टीले आफूलाई कुनै जानकारी नदिएको बताए ।

तर, आफूलाई युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी दिइएको भन्ने मिडियाबाट सुनेको उनले बताए ।

‘पार्टीबाट अहिलेसम्म कुनै जानकारी आएको छैन,’ अरगरियाले भने, ‘मिडियाबाट सुनेँ खेलकूद मन्त्रालय मलाई दिइएको छ रे।’

जसपाकै अर्का एक नेताका अनुसार अरगरियाले आफूलाई खेलकूद मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

‘पार्टी सिष्टममा चल्ने हो, अहिलेसम्म सरकारमा सहभागिताबारे कुनै छलफल भएको छैन,’ अरगरियाले भने, ‘महन्थजीसँग म हरेक छलफलमा सँगै हुन्छु तर यसबारे कसैले केही बताएको छैन, विनासल्लाह आफ्नोबारे निर्णय हुने पार्टीमा आफू कसैको गोजीको कार्यकर्ता होइन ।’

जिम्मेवारी दिए पनि पार्टीको सामूहिक छलफलबाट निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको उनले बताए। ‘पार्टीमा सिष्टम लागू हुनुपर्छ ।

कसैले टीका लगाएर गरिने आग्रहमा मेरो समर्थन हुँदैन, मलाई लाग्छ सरकारमा को को जाने र के मन्त्रालय पाउने भन्ने निर्णय भएको छैन,’ अरगरियाले थपे ।

२१ जेठ २०७८, शुक्रवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु