संवैधानिक इजलासमा न्यायाधीश केसी–श्रेष्ठ रहे कार्की–भट्टराई नरहने

नेतृत्वले गरिमा नबचाएको निष्कर्ष

१८ जेठ , काठमाडौँ । संसद विघटनका मुद्दाहरुको निरुपण गर्न बनेको संवैधानिक इजलासबाट न्यायाधीशहरु बाहिरिने कि नबाहिरने भन्ने विषय पेचिलो बन्दै गएको छ। न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने कि नरहने भन्ने टुंगो मंगलबार इजलासबाटै लाग्ने देखिएको छ।

१४६ जना सांसदका वकिलहरुले इजलास छाड्नु पर्ने माग गरेपछि सोमबार लिखित निर्णय नै सार्वजनिक गर्ने तयारी भए पनि विवाद भएपछि इजलासबाटै छिनोफानो हुने भएको हो ।

मंगलबार इजलासमा बस्ने न्यायाधीशको टुंगो मात्रै लाग्ने र थप सुनुवाइ नहुने एक न्यायाधीशले जानकारी दिए । अनौपचारिक रुपमा परामर्श गरेपछि सर्वोच्चका ती न्यायाधीशले देशसञ्चारसँग भने, ‘यो विषय भोलि इजलासबाटै निर्क्यौल हुने भो। संभवत भोलि सुनुवाई अघि बढ्दैन ।’

केसी र श्रेष्ठले नछाड्ने भनेर तयार पारेको आदेशमा अरु दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले हस्ताक्षर गर्न नमानेपछि विषय जटिल भएको छ।

दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ सम्मेलित इजलास तोकेका छन् ।

शेरबहादुुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्ने १४६ जना सांसद वकिलहरुले नेकपा एकता बदर गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको निस्सा नदिने केसीबाट निष्पक्ष सुनुवाइ हुन नसक्ने दाबी गर्दै इजलास छाड्न दबाब दिएका छन् ।

शुक्रबार र आइतबार वकिलहरुले प्रश्न उठाएपछि इजलास छाड्न दबाब परे पनि नछाड्ने निष्कर्ष पुगेका केसी र श्रेष्ठमाथि सर्वोच्चकै अरु दश जना न्यायाधीशले चर्को दबाब सिर्जना गरेका छन् ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित अनौपचारिक रुपमा बसेको संवैधानिक इजलासको रोष्टरमा रहेका १३ न्यायाधीशहरुको छलफलमा ‘प्रश्न उठेपछि इजलास छाड्नु नै उपयुक्त हुने’ सुझाव अरु न्यायाधीशले दिएका छन् ।

तर प्रधानन्यायाधीश राणा भने केसी र श्रेष्ठलाई नछोडाउने पक्षमा छन् ।

१३ जनाको छलफलपछि राणा, केसी र श्रेष्ठ बाहेक अरु दश जना न्यायाधीशहरुले कसरी अघि बढ्ने भन्नेबारे छुट्टे पनि परामर्श गरेका छन् ।

उक्त छलफलमा यदि केसी र श्रेष्ठले इजलास नछाडेमा कार्की र भट्टराईले छाड्ने निर्णय भएको अर्का न्यायाधीशले जानकारी दिए ।

‘हामीबीच छुट्टै पनि कुराकानी भएको थियो। यदि उहाँहरुले छाड्नु भएन भने कार्की र भट्टराई श्रीमान बाहिरिनु हुन्छ,’ ती न्यायाधीशले भने ।

दशजना न्यायाधीशको छलफलमा नेतृत्वले संस्थाको गरिमा काम राख्न नसकेको निष्कर्ष समेत निकालेको छ।

स्रोतले भन्यो, ‘यति बेला न्यायालयको गरिमामाथि प्रश्न उठेको छ। बाहिर अविश्वास पैदा भएको छ। त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भए ।’

पाँच बाहेक संवैधानिक इजलासमा बस्न रोष्टरमा न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेकी छिन् ।

आइतबार र सोमबारको घटनाक्रमले दुई न्यायाधीश राख्दा अरु दुई जना बाहिरिने भएपछि प्रधानन्यायाधीश राणा चेपुवामा परेका छन्। मंगलबार जसरी पनि दुई जना न्यायाधीश इजलबाट बाहिरिने भएपछि को को बाहिरिन्छ र खाली स्थानमा राणाले पूर्ति कसरी गर्छन् भन्ने चासो बढेको छ ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले गठन भएको इजलासबाट न्यायाधीश हटाउन खोजेको भन्दै आक्रोश पोखका छन्। सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीश केसी र श्रेष्ठ इजलासबाट हट्नुपर्छ भन्ने वकिलहरुप्रति कटाक्ष गरेका छन् ।

उनले न्यायाधीश फेर्नुपर्छ भन्ने कानुन व्यवसायीहरुलाई ‘अराजक कालो कोटधारी’को संज्ञा दिएका छन् भने विघटनको विरोधमा विज्ञप्ति जारी गर्ने पूर्वप्रधानन्यायाधीशलाई समेत गाली गरेका छन् ।

१८ जेठ २०७८, मंगलवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु