संवैधानिक इजलासका दुई न्यायाधीशहरु कार्की र भट्टराई इजलास छाड्ने संकेत

१७ जेठ, काठमाडौँ । संसद विघटनसम्बन्धी मुद्दाको छिनोफानो गर्न बनेको संवैधानिक इजलासका दुई न्यायाधीशहरु तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेपछि बाँकी रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन श्रेष्ठले इजलास छाड्ने छलफल गर्न सर्वोच्च अदालतमा बैठक बस्ने तयारी गरेका छन् ।
निषेधाज्ञाका कारण पेसी तोकिएका न्यायाधीशहरुमात्र अदालतमा आउने दृष्टान्त रहे पनि सोमबार सबै न्यायाधीशहरु आआफ्नो कार्यकक्षमा छन् ।
सर्वोच्च स्रोतका अनुसार न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास छाड्ने मनस्थिति बनाएको र यसबारे संवैधानिक इजलासको रोस्टरमा रहेका सबै १३ जना नै वरिष्ठतम न्यायाधीशहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।
यसले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणालाई धर्मसंकटमा पारेको छ।
बिहीबारदेखि सुरु भएको संसद विघटनसम्बन्धी मुद्दाको बहस गरिनुपर्ने संवैधानिक इजलास न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताको प्रश्नमा अल्झिरहेको छ।
विगतका विवादास्पद फैसलाका कारण केसी र श्रेष्ठ संवैधानिक इजलासमा बस्नु शोभनीय नहुने जिकिर बहसकर्ताले उठाइरहे पनि उनीहरुले संवैधानिक इजलास छाड्न अस्वीकार गरेका छन् ।
आइतबार प्रधानन्यायाधीश राणाले यसको छलफल गर्ने जिम्मा न्यायाधीशद्वय केसी र श्रेष्ठलाई नै दिए पनि उनीहरुले यसबारे कुनै निर्णय गर्न सकेनन् ।
सोमबार दिउँसो न्यायाधीशहरु बसेर यसबारे गम्भीर छलफल गर्ने बुझिएको छ ।
१७ जेठ २०७८, सोमवार १५:५८ बजे प्रकाशित