सत्ता पक्ष र विपक्षबीच प्रतिष्ठाको दोस्रो लडाइँमा लुम्बिनीमा उपनिर्वाचन

मतदानको अघिल्लो दिन मतदाता सूचीमा हेरफेर

सत्ता पक्ष र विपक्षी गठबन्धनको प्रतिष्ठाको विषय बनेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान आज हुँदै छ ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ ।

पाण्डे गत १९ वैशाखमा एमाले र लुम्बिनी प्रदेश सभा सदस्य छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर विद्रोह गरेका थिए ।

सत्ता पक्ष र विपक्षीबीच केन्द्रसँगै प्रायः सबै प्रदेशमा सरकार फेरबदलको खिचातानी चलिरहेको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले ८ जेठमा संसद् विघटन गरेर नयाँ निर्वाचनको घोषणा गरेसँगै सत्ता पक्ष र विपक्षीहरूको ध्रुवीकरण थप पेचिलो बनेको छ । यसैको परिणाम बागमती प्रदेशमा सम्पन्न ६ जेठको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापाले विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग हार व्यहोरेका थिए । त्यसमा एमालेकै झलनाथ खनाल र माधव नेपाल पक्षको साथ रहेको थियो ।

निर्वाचनको पूर्वसन्ध्यामा दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा परिणाम ल्याउन कोसिस गरिरहेका छन् । एमालेका केन्द्रीय तहका नेतादेखि प्रदेश कमिटी अध्यक्ष लीला गिरीसम्म चुनावी परिणाम आफ्नो पक्षमा निकाल्ने प्रयासमा छन् । तर, विपक्षी गठबन्धनले भने आफ्ना उम्मेदवारले फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेको छ ।

कांग्रेसका लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फखरुद्दिन खानले फराकिलो अन्तरले आफ्नो गठबन्धनले चुनाव जित्ने बताए । ‘हामीसँग स्पष्ट रूपमा नै बढी मत छ । चारजना मतदाता थप गरे पनि परिणाममा कुनै प्रभाव पर्दैन,’ खानले भने ।

लुम्बिनी प्रदेश निर्वाचन आयोग कार्यालयले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरभित्रै तीनवटा केन्द्र रहेका छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार क, ख र ग गरी तीनवटा बुथ तयार पारिएका छन् । जसमध्ये ‘ग’ केन्द्रमा कोरोना संक्रमित मतदाताका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । आयोगले ७२ घन्टाभित्र कोभिड जाँच गरेको रिपोर्टका आधारमा मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ । मतदान केन्द्रमा दुई–दुईजनाका दरले स्वास्थ्यकर्मीहरूसमेत परिचालन गरिने सूचना अधिकारी कुँवरले जानकारी दिए ।

निर्वाचन आयोगले चुनावको अघिल्लो दिन मात्रै सत्ता पक्षलाई मतदान गर्ने चारजनालाई पूरक मतदाताका रूपमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

जब कि यसअघि १३ जेठमा निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता संख्यामा प्रदेश सभाका ७९ जनाको मात्रै नामावली थियो । चुनावको अघिल्लो दिन मात्रै निर्वाचन आयोगले कारबाहीमा परेका जसपाका चारजना प्रदेश सांसदले पनि मतदान गर्न पाउने सूचना जारी गरेको छ । मतदाता संख्यामा थप गरिएका चारैजना जसपाका भए पनि उनीहरू मुख्यमन्त्री पोखरेलको मन्त्रिपरिषद्का सदस्य हुन् ।

विपक्षी गठबन्धनबाट ६ वैशाखमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चारजना सांसद सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डे त्यसको केहीबेरमा पोखरेलकै मन्त्रिमण्डलमा सहभागी भएर शपथ लिएका थिए । त्यसपछि जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिको सिफारिसमा प्रदेश सभाले उनीहरूलाई पदमुक्त गरेको थियो । जसपाका सांसदहरूको बहिर्गमन र पुनरागमन पनि मुलुकको केन्द्रीय राजनीतिसँग जोडिएको विषय हो ।

लुम्बिनीमा जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले ह्विप उल्लंघन गर्ने चारजनालाई कारबाहीको सिफारिस गरेको हो भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले कारबाही रद्द गर्न आयोग र प्रदेश सभालाई पत्र लेखेको थियो । केन्द्रमा पनि यादव पक्ष विपक्षीसँग गठबन्धन बनाएर संघर्षमा छ भने ठाकुर पक्ष प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी हुने तयारीमा छ । लुम्बिनी प्रदेशको मन्त्रिमण्डलमा भएका कारण पनि चारैजनाले उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गर्ने सम्भावना छ ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय पुगेको छ । जसमध्ये ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख हुन् । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ हुन्छ ।

एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल ३३ सय ९० मतभार रहेको छ । विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल २१ सय मतभार छ । माओवादीका १९ सांसद र ४२ स्थानीय तहका प्रतिनिधि गरी कुल १६ सय ६८ मतभार छ ।

कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ । विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार छ । जसपा दुई सांसद गठबन्धनको पक्षमा उभिएका छन् । यस्तै, राप्रपाका दुई र स्वतन्त्रबाट निर्वाचित एकजनाको गरी एक सय ४४ मतभार छ ।

राष्ट्रिय राजनीतिमा आफ्नै पार्टीसँग असन्तुष्ट एमालेको खनाल–नेपाल पक्षसँग पनि लुम्बिनीमा उल्लेख्य मतदाता छन् । प्रदेश सभामा नै दुईजना सांसद स्पष्ट खुलेका छन् भने गुल्मीलगायत जिल्लामा पनि खनाल–नेपाल समूहका मतदाता छन् ।

१७ जेठ २०७८, सोमवार ०९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु