बुहारीको सुनेर नबस्न प्रचण्डलाई सुदूरपश्चिमका माओवादी नेताहरुको खबरदारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डल पुनर्गठन पुनर्गठन गरेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । प्रदेश कमिटी र संसदीय दलको भावनाविपरीत मन्त्रिपरिषद् पुनर्गठन गरिएको भन्दै नेता–कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड;माथि खनिएका हुन् ।

शुक्रबार माओवादी केन्द्रबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी र मानबहादुर सुनार राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

माओवादी केन्द्र सुदूरपश्चिमका सहइन्चार्ज खगराज भट्टले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । भट्टले सुदूरपश्चिमलाई हेप्ने मामिलामा सबै पार्टीका नेता उस्तै रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रिमण्डलमा नियुक्त सबै साथीहरू योग्य र बधाईका पात्र छँदै छन् । उहाँहरूलाई सफलताको शुभकामना । तर, विधि, पद्धतिको नौटंकी र सुदूरपश्चिमलाई हेप्ने मामलामा कुनै पनि पार्टीका शीर्ष नेता कोहीभन्दा कोही कम रहेनछन् ।’

सुदूरपश्चिमको पार्टी नेतृत्वलाई ‘जोकरफाल्तु’ बनाइएको आरोप उनको छ । मन्त्रिपरिषद् पुनर्गठन हुँदै गर्दा उनले भनेका थिए, ‘सुदूरपश्चिमको पार्टी नेतृत्वलाई जोकरफाल्तु बनाएर यहाँको पार्टी र संसदीय दलको चाहना र भावनालाई लत्याउँदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियाप्रति खेद व्यक्त गरौँ ।’ भट्ट सुदूरपश्चिममा माओवादी केन्द्रका प्रभावशाली नेता हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवासँग तीनपटक चुनाव लडेका थिए । तीनैपटक उनी पराजित भएका थिए ।

यस्तै, पूर्वसांसद मन्जु बमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निद्राबाट बिउँझिन आग्रह गरेकी छन् । उनले ‘तपाईं कस्को बैशाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ?’ भन्दै प्रश्न समेत गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड प्रचण्ड अब त निद्राबाट बिउँझनुस् । तपाईं कस्को बैसाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ? निश्चित पनि सुदूरपश्चिमको पार्टी इन्चार्जविहीन हुँदा ​तपाईं नै सुदूरपश्चिम प्रदेश इन्चार्ज हो । यहाँको पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इमानदार कार्यकर्तालाई किनारा लगाएर बारम्बार तपाईं​को वरिपरि परिक्रमा गर्ने एक–दुईजनाले भनेको भरमा पार्टी चलाउने कि अधिकांश नेता–कार्यकर्ताको पनि सुझाब लिने ? तपाईंले सुदूरपश्चिमलाई हदैसम्म हेप्नु भो । हिजो लेखराजका एकलौटी कुरा सुन्नु भो र इमानदार कार्यकर्ताको कत्लेआम गर्नमा साथ दिनुभो, आज बुहारीका कुरा सुन्दै हुनुहुन्छ । एक दिन अवश्य पछुताउनुपर्नेछ, जुन दिन निकै ढिलो भइसकेको हुनेछ । भिरबाट हामफाल्नेलाई राम राम त भन्न सकिएला काँध थाप्न त सकिँदैन।’

१५ जेठ २०७८, शनिवार १७:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु