सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार
संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरेका थिए । त्यस्तै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश समेत माग गरेका थिए ।
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।
बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएपछि उनले भने ‘यो सबै संवैधानिक इजलासमा जान्छ, अब त्यहीँ बहस गर्ने हो ।’
संसद विघटनसम्बन्धी ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।
सर्वोच्चमा आज देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै ४ परेका चारवटा रिटमाथि सुनुवाइ भएको हो ।
शुक्रबार संवैधानिक इजलास बस्दैछ । देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको रिटमाथि पनि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुँदैछ ।
नियमित एकल इजलासमा प्रतिनिधिसभा सम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको छ ।
१३ जेठ २०७८, बिहीवार १५:२६ बजे प्रकाशित