जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भयो : रामचन्द्र पौडेल

११ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेलले सदन नभएको बेला जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भएको बताएका छन् ।
सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेका बेला नेता पौडेलले यस्तो बताएका हुन् ।
‘अहिले हतारमा अध्यादेशैबाट बजेट ल्याइहाल्न पर्ने केही छैन् । किनभने सदनै नभएको बेलामा जेठ १५ गते भन्ने कुरा अब इरेलेभेण्ट भयो, असान्दर्भिक भयो’ संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै उनले भने ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने हुन्छ । संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने प्रावधान छ ।
तर, अहिले प्रतिनिधिभा विघटित अवस्थामा रहेको भन्दै नेता पौडेलले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था असान्दर्भिक भएको बताएका हुन् । अब असारमसान्तसम्ममा बजेट ल्याउन सकिने उनको भनाई छ ।
सभामुख अग्नि सापकोटाले बोलाएको पूर्वसभामुखहरुसंगको छलफलपछि पत्रकारहरुसंग कुरा गर्दै पौडेलले भने, ‘अब असार मसान्त भित्र सदन पुनस्थापना भएर सदनबाटै बजेट पारित गर्न सकियो भने त्यो सबैभन्दा राम्रो, उपयुक्त हुन्छ । यो विषयमा पनि हामीले छलफल गर्यौं’ पौडेलले भने ।
मुलुक अहिले व्यवस्थाको रक्षा र कोरोनाबाट जनताको रक्षा गर्नुपर्ने ठूला दुई आपतमा रहेको भन्दै उनले यी दुबै आपतबाट मुलुकलाई निकास दिने जिम्मेवारी न्यायलयमा पुगेको बताए ।
‘संसद पुनस्थापना र कोरोना बाट जनतालाई बचाउने दुबै संकटबाट मुलुकलाई निकास दिने जिम्मेवारी नया मुर्तिहरुको काँधमा पुगेको छ’ उनले भने ।
सविधानको मर्म र भावना अनुरुप, देशको भावना र आकांक्षा अनुरुप, बहुमत सांसदहरुको आकांक्षा र चाहनाअनुरुप सर्वोच्चले फैसला दिने नेता पौडेलको विश्वास छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध १४६ सांसदहरु सर्वोच्च अदालत गएका छन् । उनीहरुले संसद पुनस्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागदाबी गरेका छन् ।
११ जेठ २०७८, मंगलवार १८:०३ बजे प्रकाशित