वर्तमान सरकारको ‘स्ट्याटस’ के ? असंवैधानिक, कामचलाउ वा ‘फुल फ्लेज’ !

‘कामचलाउ र अल्पमतको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न मिल्दैन’

११ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन भएसंगै वर्तमान सरकारको स्ट्याटस के हो ? भन्नेमा बहस जारी छ ।

यसमा तीनथरी धारणा आएका छन् । पहिलो सरकार नै असंवैधानिक हो, दोस्रो कामचलाउ सरकार हो र तेस्रो अर्को सरकार बन्नुअघिको विस्थापित सरकार । तेस्रो तर्क गर्नेहरुले वर्तमान वर्तमान सरकारले ‘फुल फ्लेज’ मा काम गर्न सक्ने बताएका छन् ।

संविधानको धारा ७६ (३) अनुसारको प्रधानमन्त्री रहेको र ७६ (३) बाट ७६ (४) को प्रक्रिया पुरा नगरी ७६ (५) अनुसार प्रतिनिधिसभा विघटन गरेका कारण वर्तमान सरकार नै असंवैधानिक रहेको केहीको तर्क छ ।

अर्को प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गतेलाई चुनाव घोषणा गरेको सरकार काम चलाउ सरकार भएको कतिपय कानूनविद्हरुको तर्क छ ।

के छ संवैधानिक व्यवस्था ?

प्रतिनिधिसभा सदस्य नभएमा प्रधानमन्त्री तथा मन्त्री पद स्वतः रिक्त हुने भनी संविधानको धारा ७७ को उपधारा १ को (क) मा व्यवस्था छ ।

यही व्यवस्था देखाएर विज्ञहरू प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री र त्यही प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको घोर उल्लंघन भएको बताउँछन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार  रिमाल भन्छन्  ‘एउटा सरकार विस्थापित भएपछि मात्रै अर्को सरकार बन्छ । अर्को सरकार बन्नुभन्दा अगाडिको विस्थापित भएको सरकारले काम गर्ने हो र ‘फुल फ्लेज’ ले काम गर्ने अधिकार छ ।’

संविधानको धारा ७७ मा प्रधानमन्त्री र मन्त्रीको पद रिक्त हुने व्यवस्था छ, सोही धाराको उपधारा १ को (ग) मा प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री र मन्त्री नहुने व्यवस्था छ ।

यी व्यवस्था अनुसार हालका प्रधानमन्त्री र मन्त्रिपरिषद् प्रतिनिधिसभा विघटनपछि स्वतः कामचलाउ भएको बताउँछन् नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी ।

‘कामचलाउ र अल्पमतको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न संविधानतः मिल्दैन । गरे संविधानको घोर उल्लंघन हुन्छ’ उनी भन्छन्, ‘तर, प्रधानमन्त्री ओलीलाई कसले बाँध्ने ?

राजनीतिक विश्लेषक विष्णु दाहालले वर्तमान सरकार सबैतिरबाट असंवैधानिक रहेको बताए ।

‘वर्तमान सरकार के हो ? भन्ने केपी ओलीलाई थाहा छ । अरुले यो हो भनेर नहुने भयो’ ब्यङ्ग्यको शैलीमा उनले भने ।

संविधानभन्दा बाहिर गएर निरन्तर गलत गरिरहनुभएको छ । गलत नगरिदिए हुन्थ्यो भन्ने न हो ।’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भने वर्तमान सरकार कामचलाउ सरकार नभएको बताउँछन् । र वर्तमान सरकारलाई ‘फुल फ्लेज’ मा काम गर्न संविधानले नछेक्ने उनको भनाइ छ ।

‘अन्तरिम संविधान २०६३ मा कामचलाउ सरकार भन्ने छ । त्यसको आधारमा अहिले अर्थ लगाइराखिएको छ’ उनी भन्छन्, ‘तर, हाम्रोमा अहिले संविधानको अक्षरहरूको व्याख्या गर्ने चलन छ । अक्षरकै कुरा गर्ने भए नेपालको संविधानमा कामचलाउ भन्ने नै छैन ।’

संवैधानिक रूपमा वर्तमान सरकारले यो गर्न पाउने, नपाउने भन्ने संविधानतः कुनै रोकतोक नरहेको पनि उनले बताए ।

‘संविधानको धारा ७६ को विभिन्न उपधारा अनुसार सरकार बन्छन् । ती व्यवस्था अनुसार एउटा सरकार विस्थापित भएपछि मात्रै अर्को सरकार बन्छ । अर्को सरकार बन्नुभन्दा अगाडिको विस्थापित भएको सरकारले काम गर्ने हो र ‘फुल फ्लेज’ ले काम गर्ने अधिकार छ ।’

 

११ जेठ २०७८, मंगलवार २०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु