सर्वोच्चमा रिट दायर गर्ने ७ जना सांसदहरुले वारेसमार्फत दर्ता गराए

सर्वोच्च अदालतमा प्रतिनिधि सभाका एक सय ४८ सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै रिट दर्ता गराएका छन् ।
भौतिक रूपमा उपस्थित भएर सर्वोच्चमा हस्ताक्षर गर्ने १३९ जना सांसदहरू रहेका छन् भने वारेसमार्फत उपस्थिति जनाउने ७ जना रहेका छन् ।
कांग्रेस, माओवादी केन्द्र, एमाले र जनता समाजवादी पार्टीका सांसदहरू देउवाको पक्षमा उभिएका हुन् । यसअघि गत शुक्रबार राष्ट्रपति विद्या भण्डारीसमक्ष देउवाको पक्षमा पनि बहुमत सांसदहरूको हस्ताक्षर थियोे ।
त्यतिबेला १४९ सांसदहरूले हस्ताक्षर गरेका थिए तर भण्डारीले दाबी नपुगेको भन्दै खारेज गर्दिएकी थिइन् । त्यसलगत्तै मध्यरातमा बसेको मन्त्रीपरिषद्को बैठकले संसद् विघटनको सिफारिस गरेको थियोे ।
एमालेका माधवकुमार नेपाल पक्षका ५ जना सांसदले वारेसमार्फत रिट दर्ता गराएका हुन् । भने माओवादी केन्द्र र जसपाका १/१ जनाले पनि वारेस मार्फत रिट दर्ता गराएका हुन् ।
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वारेसमार्फत रिट दर्ता गराएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत बिरामी भएकाले वारेस पठाएको जानकारी दिएका छन् ।
डा. भट्टराई भने, ‘स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुॅदै ओली/विद्या प्रतिक्रान्ति विरूद्धको कानूनी तथा राजनीतिक लडाइॅमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल,नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपील गर्दछु।यो वारपारको लडाइॅ हो ; खुट्टा नकपाऊॅ!’
यस्तै सर्वोच्च अदालतले राष्ट्रपतिको कदम विरुद्ध मुद्दाको चाङ लागेकाले कुन इजलासबाट टुंग्याउने भनेर न्यायाधीशबीच नै छलफल गर्ने भएको छ । नियमित इजलासबाट टुंग्याउने वा संवैधानिक इजलासमा लगेर टुंग्याउने भन्ने न्यायाधीशहरूले नै छलफल गरेर टुंग्याउने सर्वोच्च स्रोतले जानकारी दिएको छ । मुद्दा दर्ता भए पनि रिट नम्बर मंगलबार मात्रै दिने भएको छ ।
वारेस मार्फत रिट दर्ता गराउने को को ?
एमालेबाट :
झलनाथ खनाल
सुरेन्द्र पाण्डे
कलिना खातुन
नारायण खतिवडा
मेटमणि चौधरी
माओवादीबाट :
सुरेन्द्र कार्की (राम कार्की)
जसपाबाट :
डा. बाबुराम भट्टराई
१० जेठ २०७८, सोमवार २०:१७ बजे प्रकाशित