एमालेका यी सात सांसद : जसले देउवालाई साथ दिन अस्वीकार गरे
संविधानको धारा ७५ (५) अनुसार नयाँ प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म दिएको समय सीमाअनुसार प्रतिनिधिसभाका दुवै सांसदले बहुमत छ भन्ने आधार शीतल निवासमा पेस गरेका हुन् ।
बागमती प्रदेशमा बिहीबार भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले एमाले नेता माधवकुमार नेपालको असहयोगका कारण पराजय भोगेपछि तत्काल एमालेको स्थायी कमिटी बैठकले भत्सर्ना गरेको थियो ।
माधव पक्षीय सदस्यले कार्यदल बैठकमै भने : हाम्रो हस्ताक्षर दुरुपयोग गरियो
त्यसलगत्तै संविधानको धारा ७६ (३) बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका ओलीले उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिने प्रकृयामा नगई उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेका थिए ।
त्यहीअनुसार राष्ट्रपतिले उपधारा ५ बमोजिम शुक्रबार बेलुकी ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको समय सीमाभित्र ओली र देउवाको दाबी परेको छ ।
गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले भने : देउवालाई समर्थन छैन, हस्ताक्षर दुरुपयोग भयो
ओलीले एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ जना सांसदहरुको हस्ताक्षरसहित १५३ जनाको समर्थन आफूलाई रहेको भन्दै राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् ।
कांग्रेस सभापति देउवाले माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव पक्ष) र एमालेका माधव नेपाल पक्षका २७ सांसदको हस्ताक्षरसहित १४९ जना सांसदहरुको समर्थन रहेको भन्दै दाबी पेश गरेका छन् ।
योगेशको नाम हटाइयो
एमालेको नेपाल समूहमा रहेका नेता योगेश भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउने कुरामा असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको थियो ।
देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा योगेश भट्टराईले गरेनन् हस्ताक्षर
नेता भट्टराईले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने प्रक्रियामा आफू सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए । त्यसपछि उनको नाम हटाएर सांसदहरुको सूची शीतल निवास लगिएको थियो ।
७ नेताको असहमति
विपक्षी गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाले नेता माधवकुमार नेपालले समर्थन गर्दै हस्ताक्षर बुझाएका छन् । तर नेता नेपालको आफ्नै टिमका ६ जना सांसदहरुले हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । उता नेता योगेश भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
एमाले नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, गणेश पहाडी र जयकुमार राईले हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको जानकारी ओलीलाई गराएका छन् । उनीहरुले यसबारेमा संसदीय दलका नेता ओलीलाई जानकारी गराइसकेको स्रोतले जनाएको छ ।
हस्ताक्षर दुरुपयोग गरेको भन्दै माधवपक्षीय सांसद राईले पठाए राष्ट्रपतिलाई पत्र
नेता पाण्डेले अहिले कुनै हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको बताए । पुरानै दस्तखत होला, मैले अहिले दस्तखत गरेको छैन र थाहा पनि छैनु, उनले भने, मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ ।
राष्ट्रपतिलाई राईको पत्र
यसैगरी सुनसरी क्षेत्र नम्बर १ का नेपाल पक्षीय सांसद जयकुमार राईले राष्ट्रपतिलाई पत्र नै लेख्दै विपक्षी गठबन्धनमा हस्ताक्षर नगरेको बताएका छन् ।
मेरो हस्ताक्षर समेत प्रयोग गरी सम्माननीय राष्ट्रपतिको कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा शेरबहादुर देउवालाई प्रस्ताव गरिएको भनी सार्वजनिक सञ्चारमाध्यममा समाचार आएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छु, सांसद् राईले राष्ट्रपतिलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, म एमालेको प्रतिनिधिसभा सदस्य हुँ र मैले मेरो पार्टी अध्यक्ष विरुद्धमा विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनेगरी कुनै हस्ताक्षर नगरेको ब्यहोरा जानकारी गराउँदछु।
७ जेठ २०७८, शुक्रवार १९:५६ बजे प्रकाशित













