संकटकाल लगाउन सक्ने अध्यादेश जारी, संकटकाल लागे के हुन्छ ?
७ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र भएको अवस्थामा स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने व्यवस्थासहित सरकारले अध्यादेश ल्याएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा संक्रमणका कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परे वा पर्न सक्ने देखिए स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने प्रावधान राखिएको हो ।
अध्यादेशको दफा ३ मा देशभर वा कुनै पनि स्थानमा लागू हुने गरी स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ ।
संकटकाल लागे के हुन्छ ?
संकटकाल लगाएको अवस्थामा सरकारले आवश्यकताअनुसार स्वास्थ्य संस्थाहरु नियन्त्रणमा लिएर सञ्चालन गर्नरगराउन सक्ने भनिएको छ । साथै, जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड–१९ को निदान र उपचारमा लगाउन सक्ने पनि भनिएको छ ।
सरकार, प्रदेश र स्थानीय तह वा प्रचलित कानून बमोजिम स्थापना भएका शिक्षण संस्था, प्रतिष्ठान, बोर्ड, संस्थान, सरकारी स्वामित्वको कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारीसाधन, भवन संरचना वा अन्य भौतिक साधनलाई कोरोनामा भाइरसको रोकथाम, नियन्त्रण, निदान र उपचारमा लगाउन सक्ने पनि भनिएको छ ।
आवश्यकताअनुसार सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी स्वामित्वमा रहेको जग्गा, भवन, संरचना र सवारीसाधनको अभिलेखन राखेर प्रयोग गर्न सक्ने पनि भनिएको छ ।
आपतकाल घोषणा भए वा संक्रमणका कारण जोखिम देखिए सरकारले मानिसको आवतजावत, हवाई, स्थल तथा अन्य यातायात साधन सञ्चालन बन्द गर्न सक्ने प्रावधान पनि अध्यादेशमा राखिएको छ ।
साथै, मानिस वा सवारीसाधनको आवागमन हुने वा भीडभाड हुने अन्य क्रियाकलापहरुलाई पनि निषेध गर्न सक्ने भनिएको छ ।
७ जेठ २०७८, शुक्रवार १९:३६ बजे प्रकाशित













