नेकपा एमाले कार्यदलको पहिलो बैठक सकियो

नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलको पहिलो बैठकले पार्टीका शीर्ष नेतालाई पार्टी एकता र सद्भावको लागि आग्रह गर्ने निर्णय गरेको छ ।

‘आज कार्यदलको पहिलो बैठक बस्यो । काम विशेषले कार्यदलका सदस्य विष्णु पौडेल र शंकर पोखरेल अनुपस्थित हुनुभयो,’ कार्यदलमा माधवकुमार नेपाल पक्षका संयोजक भीम रावलले भने, ‘कार्यदल २०७७ फागुन २३ गते पुनर्जीवित भएपछि देखिएका विवाद समाधान खोज्न गठन भएको हो । आजको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागू गर्ने निर्णय गरेको छ ।’

उनले पार्टीमा देखिएका विवाद समाधान गर्न पार्टी पंक्तिलाई आग्रह गर्नेबारे पनि छलफल भएको बताए । ‘पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्‍भावको लागि आग्रह गरेको छ,’ उनले भने, ‘यसको साथै पार्टी एकता र सझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आह्वान गर्ने निर्णय गरेको छ ।’

रावलले कार्यदलको बैठक भोलि फेरि बैठक बस्ने पनि जानकारी दिए । एमालेको विवाद समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको तर्फबाट सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा र नेपाल पक्षको तर्फबाट रावलको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनेको छ ।

४ जेठ २०७८, मंगलवार १८:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु