अन्तत: बस्ने भयो एमाले कार्यदलको बैठक

४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । ‘सबैसँग हाइ-हेलो गर्दै दिउँसो तीन बजे बैठक बस्ने कुरा भएको छ,’ उनले भने ।
२ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् । गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ । त्यसका लागि
२ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच/पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।
तर, दुवै तर्फको समानान्तर कमिटी निर्माण भएको र माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको मापदण्ड तय गर्न कार्यदल गठन भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल सहित माओवादी छोडेर आउनेहरुलाई ओलीले एमाले केन्द्रीय कमिटीमा मनोनित गर्दै महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।
कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन । कायर्दल सदस्य शंकर पोखरेल दाङ गएका छन् भने अर्का संयोजक भीम रावल आँखामा समस्या भएका कारण आराम गरिरहेका छन् । नेम्वाङले भने, ‘को-को सदस्य उपस्थित हुनुहुन्छ, त्यो अझै तय भएको छैन ।’
कार्यदलको हिजो तय बैठक रावलको आँखा अस्वस्थताका कारण बस्न सकेको थिएन ।
४ जेठ २०७८, मंगलवार १२:०५ बजे प्रकाशित