नयाँ सरकार गठनको प्रयास टर्यो, केपी ओलीको पुन नियुक्ति र सपथको तयारी
ओली र नेपाल सहमति नजिक
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो ।
एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन सहमति जनाउने सम्भावना छ । यसबारे ओली र नेपालबीच वार्ता भइरहेको छ ।
जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताइसकेका छन् ।
माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले दलहरुसँगका वार्ताको बारेमा जानकारी गराएका नेता देवेन्द्र पौडेलले बताए । आजै तीन दलको बैठक फेरि बस्ने जानकारी समेत उनले गराएका थिए ।
माओवादी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताएका थिए ।
सांसदहरुको राजीनामा तत्काललाई टर्यो
केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधव कुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफल भएको थियो ।
माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ ।
तर २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो ।
३० वैशाख २०७८, बिहीवार १८:२१ बजे प्रकाशित





