माधव नेपाल पक्षका सांसदको राजीनामा रोक्ने अन्तिम प्रयासमा ओली

बहुमत जुटाई नयाँ सरकार गठन गर्ने समयसीमाको अन्तिम दिन आज एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।

बैठक अहिले बिहान ९ बजे बस्नेछ। त्यसपछि ओलीले नेपाल पक्षसँग वार्ता गर्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।

एमाले अध्यक्ष ओलीले संसदमा विश्वासको मत बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत जुटाई नयाँ सरकार गठन गर्न विपक्षी दललाई दिएको समयसीमा आजै राति ९ बजे सकिँदैछ।

नेपाल पक्षका सांसदले राजीनामा दिँदा नयाँ प्रधानमन्त्री बन्न कस्सिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत पुग्ने हुँदा त्यसलाई रोक्न ओली सक्रिय भएका हुन्।

नेपाल पक्षका कम्तीमा १६ सांसदले राजीनामा दिँदा संसदको कूल सदस्य संख्या घट्ने र जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि विपक्षी गठबन्धनलाई बहुमत पुग्ने आकलन भइरहेको छ।

त्यसका लागि देउवाले नेपाल पक्षका सांसदलाई मनाउने प्रयास गरिरहेका छन् भने आफ्नै अध्यक्ष भए पनि ओली प्रतिगमनकारी भएको र लोकतन्त्र ध्वस्त बनाउन उद्दत भएको आरोप लगाउँदै नेपाल पक्षका सांसदले पनि बरु आफूहरूले राजीनामा दिएर भए पनि उनलाई सत्ताबाट हटाउनैपर्नेमा जोड दिइरहेको खबर आइरहेका छन्।

यद्यपि यो विषयमा उनीहरूबीच अझै एकमत हुन बाँकी छ।

३० वैशाख २०७८, बिहीवार ०८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु