ईश्वर पोखरेलले चाहदा एमाले जोगिनसक्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षका नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका छन् ।
सिंहदरवारस्थित उपप्रधानमन्त्री पोखरेलको कार्यकक्षमा बुधबार अपरान्ह भट्टराई र पहाडी छलफलका लागि गएका हुन् । माधव पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुले सामुहिक राजिनामा दिएर संसदमा विपक्षको बहुमत पुर्याइदिने चर्चा चलिरहेका बेला नेताहरुबीच छलफल भएको हो ।
महासचिव पोखरेललाई भेटेर सकेसम्म एमाले विभाजित हुन नदिन अन्तिम प्रयासको पहल गरेको केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडीले नेपाल प्रेसलाई बताए ।
व्यक्ति-व्यक्तिलाई भेटेर तान्ने भन्दा पनि माधव नेपाल, झलनाथ खनाल लगायतका नेतासँग कुरा गर्न र नेताहरुबीच कुरा मिलाउन आग्रह गरेको उनले बताए ।
पहाडीले भने- हामीले महासचिवलाई पार्टी एकताको पहल गर्न र एमाले जोगाउन आग्रह गरेका छौं । उहाँ र अध्यक्ष नै एकताको पक्षमा नरहेको भन्ने चर्चा चले पनि महासचिवमा एकता जोगाउँ भन्ने नै भावना रहेको पाइयो । हामीले प्रयास गर्नुस्,व्यक्तिगत रुपमा हामी एक दुई जनालाई कन्भिन्स गर्नुको अर्थ छैन भन्यौं ।
२२ वैशाख २०७८, बुधवार २१:०२ बजे प्रकाशित