माधव नेपालसहित २७ सांसदको सामूहिक राजीनामा दिने तयारी

काठमाडौं । अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए ।

त्यसका लागि माधव नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि सघन छलफल शुरू भएको एमालेका एक प्रभावशाली नेताले बताए । त्यो विकल्पमा जानुअघि ओलीसँग निर्णायक संवाद र शेरबहादुर देउवा तथा प्रचण्डसँग पनि छलफल हुने बताइन्छ ।

आफूहरूले विश्वासको मत दिए ओली सरकार जोगिने र नदिए पनि जसपाको एउटा पक्षको साथ पाएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि माधव पक्षले तेस्रो विकल्पमाथि छलफल थालेको हो । त्यसो भयो भने वैशाख २७ अघि नै एमाले विभाजनको प्रक्रिया टुंगिनेछ ।

अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘केपी ओलीले हामीलाई एमाले भएर बस्न नदिने नै भएपछि सीमित विकल्प छन् । अविश्वास प्रस्ताव आएको भए हामीलाई अप्ठेरो पर्थ्यो । ओली आफैं विश्वासको मत लिन गएपछि फ्लोर क्रस गरेर ढाल्नुभन्दा सामूहिक राजीनामा दिनु राजनीतिक निर्णय हुने देखियो ।’

आफ्नै पार्टीविरुद्ध फ्लोर क्रस गरेको सन्देश राम्रो नजाने भएकाले राजनीतिक निर्णयका आधारमा सांसदहरूले राजीनामा दिएर हिडेपछि संसदमा विपक्षीको बहुमत पुग्ने र ओलीको सरकार ढल्ने बुझाइ माधव नेपाल पक्षको छ । सामूहिक राजीनामा राजनीतिक नैतिकताको हिसाबले पनि उपयुक्त विकल्प परहेको बुझाइ नेताहरूको छ ।

राजीनामा दिँदा वैशाख २६ को अबेर वा २७ गते प्रतिनिधिसभाको बैठकअघि सभामुखसमक्ष दिने सम्भावना छ । त्यसो भयो भने समानुपातिक सांसदको पदपूर्ति गर्ने मौका केपी ओलीले पाउँदैनन् भन्ने बुझाइ नेपाल पक्षका नेताहरूको छ ।

ती नेताले भने, ‘ओलीले हामीबिनाको एमाले बनाएर हिडिसकेपछि हामीले ओलीलाई विश्वासको मत दिएर जोगाउनु जरुरी छैन । यसबीचमा उनले जेठ २ मा फर्किने कुरालाई कुनै न कुनै रूपमा सम्बोधन गरे भने अझै पनि मौका छ ।

जे जे निर्णय गर्ने हो त्यही बैठकबाट गरे हुन्छ । नत्र अब राजीनामा दिएर विभाजनलाई पूर्णता दिने विकल्पमात्र बाँकी रह्यो । कर्णालीका ४ सांसदको फ्लोर क्रस र लुम्बिनीका एक सांसदको राजीनामाले एमालेको दिशा तय गरिसकेको छ ।

प्रतिनिधिसभाका माधव पक्षका सांसदहरूले सामूहिक राजीनामा दिए भने त्यो सिलसिला सबै प्रदेशमा चल्नेछ । एकैसाथ केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार ढाल्नका लागि सामूहिक राजीनामाको विकल्पमा छलफल भएको नेताहरूले बताएका छन् ।

आजको मितिमा माधव नेपाल पक्षसँग कम्तीमा ३० जना सांसद छन् । सर्वोच्च अदालतबाट एमाले ब्युँतिएको दिनसम्म नेपाल पक्षमा ४१ जना सांसद थिए । अदालतको फैसला लगत्तै लालबाबु पण्डित, माया न्यौपाने र विष्णु शर्माले संस्थापन पक्ष रोजे ।

त्यसपछि कृष्णभक्त पोखरेल र गोपाल बमले माधव नेपालको साथ छाडेका थिए । शेरबहादुर तामाङले प्रतिनिधिसभा पुनःस्थापनाअघिनै ओलीलाई साथ दिएका थिए ।

पछिल्लो समय ध्रुव शाही, पार्वती बिशुंखे, गंगा चौधरी सतगौंवा र बिना बुढाथोकीलगायतले संस्थापन पक्षमा झुकाव राखेका छन ।

राजीनामा दिँदा प्रत्यक्ष निर्वाचित सांसदहरूले दिनेछन् । समानुपातिकले दिए पनि उनीहरूको ठाउँमा बन्दसूचीबाट अरु निर्वाचित गराउने प्रक्रिया शुरू हुने भएकाले प्रत्यक्ष निर्वाचित २१ जनाले राजीनामा दिने गरी छलफल भएको बताइएको छ ।

यदि २१ जनाले राजीनामा दिए भने एमालेको प्रतिनिधिसभामा १०० सिट हुनेछ । २१ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभाको संख्या २४६ हुन्छ । त्यसको सामान्य बहुमत भनेको १२४ हो ।

कांग्रेस, माओवादीको ११० हुने भएकाले जसपाको उपेन्द्र बाबुराम पक्षले १४ जनामात्र सांसद आफ्नो पक्षमा राख्न सक्दा पनि बहुमत पुग्ने हिसाब गरेरै राजीनामाको चर्चा चलेको हो ।

सामूहिक राजीनामा दिन माधव पक्षका २१ जना नै प्रत्यक्ष निर्वाचित सांसद तयार हुन्छन् कि हुँदैनन् ? प्रष्ट भइसकेको छैन । अहिले राजीनामा दिने भनेको २ वर्ष बाहिर रहने हो र राजनीतिक भविष्य पनि दाउमा राख्ने नै हो । जे भए पनि ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्या आफूहरूसँग तयार रहेको नेपाल पक्षका नेताहरू बताउँछन् ।

राजीनामा दिँदा वैशाख २६ को अबेर वा २७ गते प्रतिनिधिसभाको बैठकअघि सभामुखसमक्ष दिने सम्भावना छ । त्यसो भयो भने समानुपातिक सांसदको पदपूर्ति गर्ने मौका केपी ओलीले पाउँदैनन् भन्ने बुझाइ नेपाल पक्षका नेताहरूको छ ।

२१ वैशाख २०७८, मंगलवार १८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु