प्रतिनिधिसभा फेरि विघटन गर्ने ओलीको तयारी
सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने तयारी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने धारणा राखेका हुन् ।
अन्य राजनीतिक दलका नेताले प्रतिवाद गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको भनाइको बचाउ गरेकी थिइन् । ‘चुनावमा जाने कुरा लोकतान्त्रिक हो, यसलाई नकारात्मक रूपमा लिन भएन,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर निर्वाचनमा जाने÷नजाने तपाईंहरूले नै निर्णय गर्ने हो ।’
प्रधानमन्त्रीको भनाइमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठाडै प्रतिवाद गरेका थिए । उनीहरूले राजनीतिका यस्ता विषयमा छलफल गर्ने थलो शीतल निवास नभएको उल्लेख गर्दै संसद्बाट निकास खोज्नुपर्ने बताएका थिए । राजनीतिक दलहरूबाट नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै प्रधानमन्त्रीको भनाइमा समर्थन जनाएका थिए । जनता समाजवादी पार्टीका नेताहरूले भने यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।
माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रपति भण्डारीले आफू बंगलादेश भ्रमणमा जान लागेको जानकारी गराउँदै कोभिडका कारणले भेट्न नपाएको पृष्ठभूमि जोड्दै दलहरूबीचको हार्दिकता र सद्भावका लागि आफूले चियापान राखेको सुरुमै बताएकी थिइन् । लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता श्रेष्ठले राष्ट्रपतिलाई बंगलादेश भ्रमणका लागि सफलताको शुभकामना दिएपछि नेताहरू बैठकबाट उठ्न खोजेका थिए ।
‘कोही बोल्न नचाहेपछि हामी सबै उठ्न खोजेका थियौं, प्रधानमन्त्रीले मेरो केही भन्नु छ भनेर बोल्न थाल्नुभयो । सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्रीले पुस ५ गते प्र्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदमलाई संविधानसम्मत भएको, अदालतले पुनःस्थापना गरे पनि प्र्रतिनिधिसभा परिणाममुखी हुन नसकेको र सहमतिअनुसार नै फेरि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने कुरा गर्नुभयो,’ श्रेष्ठले भने, ‘उहाँले विघटन गर्ने प्रावधान छ, सल्लाह गर्दै जाऔं भन्नुभएपछि मैले र रामचन्द्र पौडेलजीले प्रतिवाद गर्यौं ।’
बैठकमा सहभागी एक नेताले राष्ट्रपतिले शीतल निवास बोलाएर प्रतिनिधिसभा विघटनका लागि सहमति जुटाउन खोज्नु गलत भएको प्रतिक्रिया दिए ।
‘राष्ट्रपतिले अल्पायुमै मुलुकलाई निर्वाचनतिर धकेल्ने कुरा बोल्नै मिल्दैन । राष्ट्रपतिले जे बोल्नुभयो, त्यसले राजनीतिक दलहरूबीच थप नकारात्मक धारणा पैदा गराएको छ,’ उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्रीको चाहनालाई समर्थन जुटाउन बैठक आयोजना गरिदिएको जस्तो सन्देश गएको छ ।’
मन्त्रिपरिषद्ले गत पुस ५ मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले लगत्तै सदर गरिदिएकी थिइन् । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि भण्डारी स्वयं नैतिक संकटमा छिन् ।
सर्वदलीय बैठकमा नेताहरूले संवैधानिक अभिभावकत्व निर्वाह नगरेको भन्दै राष्ट्रपतिको भूमिकामाथि आलोचना गरेका थिए । मन्त्रिपरिषद्ले गरेको सिफारिस कार्यान्वयन गराउने दायित्व आफ्नो भएको भन्दै उनले आफूले संविधानको अक्षरशः पालना गरेको प्रस्टीकरण दिएकी थिइन् ।
५ चैत २०७७, बिहीवार ०५:४१ बजे प्रकाशित













