अब हामी ओली सरकार जोगाउनतिर लाग्छौं : झलनाथ खनाल
सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्।
बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’
नेता झलनाथ खनालले पुर्नस्थापित संसदबाट नयाँ खेलको शुरुवात हुने बताए।
बुधबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद राजनीतिक पार्टी र राजनीतिज्ञहरुको खेल खेल्ने सर्वोच्च राजनीतिक मञ्च भएको उल्लेख गर्दै संसद बाट नयाँ खेलको सुरुवात हुने बताए। कुन र कस्तो खेल भन्ने स्पष्ट नपारे पनि उनले नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य बिस्तारै देखिदै जाने टिप्पणी गरे।
संसदले मुलुकलाई राम्रो निष्कर्ष तर्फ लानुपर्ने उनको भनाई छ।
उनले नेकपा एमाले देशका वामपन्थी एकताको पक्षमा रहेको र सो मुद्दा कहिल्यै पनि नछाड्ने समेत बताए।
‘यो संसद भनेको सबभन्दा माथिको सर्वोच्च राजनीतिक मञ्च हो। देशको सम्पूर्ण राजनीतिक पार्टीहरुले, राजनीतिज्ञहरुले खेल खेल्ने ठाउँ यही हो। अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईहरुले बिस्तारी बिस्तारी देख्दै जानुहुन्छ । तर मलाई लाग्छ, संसदले एउटा राम्रो निष्कर्षतर्फ अब मुलुकलाई लानुपर्छ । नेकपाएमालेसधैभरी यो देशको वामपन्थी एकताको पक्षमा छ । वामपन्थीहरुलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छ । मुलुकको अग्रगतिको पक्षमा छ । प्रगतिको पक्षमा छ । हामी यी मुद्दालाई कहिल्यै पनि छोड्दैनौँ,’ उनले भने।
नेकपा एमाले नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टी सँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा बिस्तृत रुपमा छलफल गर्ने बताए।
‘हाम्रो पार्टीमा हामी छलफल गर्छौ । कसरी पार्टी लाने, आन्दोलन लाने कसरी, सरकार लाने कसरी, अरु पार्टी सँगको सहकार्य गर्ने कसरी, जनताको बिश्वास जित्ने कसरी, जनताका गुनासोहरु सम्बोधन गर्ने कसरी, पार्टी भित्रको विमतिलाई सम्बोधन गर्ने कसरी, यावत् कुराको बारेमा बिस्तृत छलफल गर्छौ । हामी छलफलबाट, बहसबाट, विवादबाट कहिल्यैपनि डराउदैनौ । छलफल, बहस, विवाद राजनीतिज्ञको एउटा विशेषता पनि हो । लोकतान्त्रिक संस्कार बोकेको राजनीतिज्ञको जिम्मेवारी पनि हो,’ उनले भने।
२६ फागुन २०७७, बुधवार २२:३६ बजे प्रकाशित













