माधव नेपाल समूहको निश्कर्ष : अब एमालेको संगठनात्मक प्रणाली अनुसार पार्टी चल्नुपर्छ
नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूहले अब पार्टीलाई २०७५ जेठ २ अघिको संगठनात्मक प्रणालीमा फर्काउनुपर्ने निश्कर्ष निकालेको छ।
बुधबार नेपाल समूहमा रहेका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको भेलाले नवौं महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेज र पार्टीको विधान लागू गर्नुपर्ने निश्कर्ष निकालेको हो।
आजको बैठकबाट पार्टीलाई एकताबद्ध बनाउन सबै जिम्मेवार बन्नुपर्ने धारणा आएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।
‘पार्टी एकतालाई खारेज गरेपछि अब पुराना सबै संरचना ब्युतिनुपर्छ। तर ओली पक्षले अहिले पनि गुण्डागर्दीकै शैलीमा पुस ५ पछिका संरचनालाई अघि बढाउन खोजेका छन्। पार्टी अध्यक्षको ठाउँबाट जुन प्रयास हुनुपर्ने हो भएको छैन,’ उनले भनिन्, ‘अब स्थायी कमिटी बैठक बोलाउनुपर्छ र समिक्षा गर्नुपर्छ भन्ने धारणा आएका थिए। अदालतको फैसलाले पार्टी ब्युँतिएकाले कसैलाई स्वागत गरेजस्तो ठान्नु हाँस्यास्पद हो।’
बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता गर्दा संस्थागत ढंगले नगरिए पनि आफूहरूले कम्युनिष्ट आन्दोलन एकताबद्ध हुन्छ भनेर सहेको बताएका थिए।
नेता माधवकुमार नेपालले आफूहरूले को(अर्डिनेसन केन्द्र, मालेहुँदै एमाले बनाएकाले पार्टीको माया पनि आफूहरूलाई नै हुने बताएका थिए।
उनले पर्याप्त गृहकार्य नभइ एकता गरेकाले अहिलेको अवस्था आएको बताएका थिए।
आफ्ना तर्फबाट कुनै गल्ती गर्न नहुने भन्दै उनले आफूहरूमाथि आक्रमण भएमा त्यसको प्रतिकार गर्नुपर्ने चेतावनी दिएका थिए।
बैठकमा केन्द्रीय सदस्यहरूले एमाले विघटन केपी ओलीले गरेको तर पुनर्स्थापना अदालतले गरेको तर्क गरेका थिए।
भएको पार्टी फुटाउने अनि अवसरवादीलाई पार्टीमा राख्नु हाँस्यासपद भएको केन्द्रीय सदस्यको भनाइ थियो।
माओवादी खेमाबाट मन्त्री बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, लेखराज भट्ट र दावा तामाङप्रति लक्षित गरेर यस्तो भनेका थिए। ओलीले उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्।
केन्द्रीय सदस्य निरज आचार्यका अनुसार बैठकमा पार्टीको बैठक बोलाएर तुरून्तै अन्तरपार्टी निर्देशन जारी गर्नुपर्ने धारणा केन्द्रीय सदस्यहरुले राखेको बताए।
‘पार्टीलाई हिजोभन्दा एकताबद्ध बनाउनुपर्नेछ। पार्टीभित्रका अन्तरविरोध र मनमुटावका कारण देखिएका खाडलहरू पुर्नुपर्नेछ,’ आचार्यले भने, ‘वालुवाटारबाटै पार्टी चलाउने हो भने कमिटिलेसमेत काम गर्दा समानान्तर गतिविधि हुनसक्छ। त्यसैले अब कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट एकतालाई अघि बढाउन पार्टी एकताबद्ध हुन जरूरी छ भन्ने धारणा आएको छ।’
केन्द्रीय सदस्य दिलु पन्तले पार्टीको नाम जुधेर सर्वोच्चमा परेको मुद्दा सरकार र निर्वाचन आयोगले हारेको भए पनि उनीहरूबाटै हर्ष बढाइ किन भइरहेको भनेर प्रश्न उठेको बताइन्।
‘हामी कोही अघि अनि कोही पछि भएको होइन। सर्वोच्चको आदेशले नेकपा विघटन भएको हो। अनि एमाले ब्युतिएको हो,’ उनले भनिन्, ‘सबै एकैचोटी एमाले भएको हो। हामी बाराबरीको स्थितिमा छौ। त्यसैले अब सबै पूर्ववत अवस्थामा फर्किनुपर्छ।’
२६ फागुन २०७७, बुधवार २२:२८ बजे प्रकाशित













