बादलले नयाँ पार्टी खोल्ने, रायमाझीलाई सोधे- ओलीलाई साथ दिनुहुन्छ कि मलाई ?

सह-अध्यक्ष बनाउने शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली समूहमा पुगेका गृहमन्त्री रामबहादुर थापा पूर्वमाओवादी नेताहरुसँग परामर्शमा छन् ।

प्रधानमन्त्री ओलीसँग दुरी बढ्दै गएको बेला उनले उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भेटेका छन्। उनले आफूलाई साथ दिन रायमाझीसँग आग्रह गरेको उनी निकट एक नेताले जानकारी दिए।

गृहमन्त्री थापाले पूर्वमाओवादी नेताहरू एक भएर जानुपर्नेमा जोड दिएका थिए। भेटमा उनले रायमाझीलाई ओली पक्षमा लाग्ने कि पूर्वमाओवादी एक भएर जाने विषयमा छिटो निर्णय लिन भनेका छन्।

पूर्वमाओवादी पक्षबाट यति धेरै मन्त्री भए पनि पार्टीभित्र भने कमजोर अवस्थामा रहेको गुनासो रायमाझीको पनि छ। तर, पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा भने उनी अन्योलमा रहेको स्रोतको दाबी छ।

पूर्वमाओवादीबाट थापा र रायमाझीसहित, लेखराज भट्ट, मणि थापा, दावा तामाङ र गौरीशंकर चौधरी ओली समूहमा लागेर मन्त्री बनेका छन्।

पार्टी विभाजनको बेलामा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई सहअध्यक्ष बनाउने र गृहमन्त्री कायम राख्ने वचन दिएका थिए। तर अहिले ओली उक्त वचनबाट पछि हटेका छन्। ओली पूर्वसहमति अनुसार नचलेपछि पूर्वमाओवादी नेताहरू असन्तुष्ट बनेका हुन्।

उद्योगमन्त्री लेखराज भट्ट पनि ओलीसँग चिढिएका छन्। पछिल्ला दिन उनले सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै ओली समूह छोड्न सक्ने संकेत गर्दै आएका छन्। ‘ओलीले पेल्दै गए उनलाई छोड्न कुनै आइतबार कुर्नु पर्दैन’ भट्टले सार्वजनिक रुपमै चेतावनी दिँदै भनेका थिए। भट्टनिकटका नेता(कार्यकर्ताले पनि पछिल्लोसमय सामाजिक सञ्जालमा ओलीविरुद्ध असहमति जाहेर गरिरहेका छन्।

ओलीलाई छोडेर नयाँ पार्टी बनाउने बादलको तयारी छ । सोही अनसार उनले पूर्व माओवादीहरुसंग परामर्श गरेका हुन ।

१४ फागुन २०७७, शुक्रवार ०७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु