प्रचण्ड-नेपाल समुह अब नयाँ सरकार निर्माणमा केन्द्रीत हुने

प्रचण्ड संसदीय दलको नेता चयन, माफी मागे ओलीलाई पार्टीमा स्वागत गर्छौं : माधव नेपाल

पुस, ८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधव कुमार नेपाल समुह अब नयाँ सरकार निर्माणमा केन्द्रीत हुने भएको छ ।

निर्वाचन आयोगबाट आधिकारिक रुपमा केपी शर्मा ओली र आफुहरुको पार्टी अलग भएको घोषणा नहुँदै प्रचण्ड– नेपाल पक्षले नयाँ सरकार निर्माणमा आफुहरुलाई केन्द्रीत गर्ने उद्घोष गरेको हो ।

आफ्नो पक्षको संसदीय दलको नेता चयन भएपछि प्रचण्डले आफ्नो पुरै ध्यान संसद पुनःस्थापित गरी नयाँ सरकार गठन गर्नेतिर हुने बताएका छन् । नयाँ सरकार निर्माणमा संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य हुने उनको भनाई रहेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा दलले आफूलाई नेता चयन गरेर ठूलो जिम्मेवारी दिएको पनि दाहालले बताए । आफूले ठूलो चुनौतीको समयमा संसदीय दलको नेताको जिम्मेवारी पाएको पनि उनले बताए ।

‘मैले नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नेमा मैले मैले प्रयत्न गर्नेछु,’ उनले भने, ‘मलाई विश्वास छ नेपाली जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै, सबै माननीय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु ।’

मंगलबारमात्रै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट पनि ओलीलाई हटाएको हो ।

मंगलबार अध्यक्ष चयन भएका माधव नेपालको प्रस्तावमा दाहाललाई दलको नेता बनाइएको हो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आइ एम द स्टेट’ भन्ने प्रवृत्तिका कारण संसदको दुईतिहाई बहुमत जोगाउन नसकेको पनि बताए ।

सांसदहरुलाई सम्बोधन गर्दै दाहालले जनताले ठूलो अवसर दिए पनि त्यसलाई जोगाउन नसकिएको बताए । ‘जनताले ठूलो अवसर दिएका थिए । तर गल्ती स्वीकार्न नसक्ने, आइ एम द स्टेट भन्ने धारणाबाट चल्दा दुईतिहाइ जोगाउन सकेनौं । हामी फेरि संसदलाई स्थापित गर्ने, नयाँ सरकार गठन गर्ने हाम्रो प्रतिबद्धता छ । सडक, कानुनी माध्यम, सहयात्री दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यमा हामी अगाडि बढ्छौं ।’

झन्डै ७० प्रतिशत केन्द्रीय सदस्य र संसदीय दलको बैठकसम्म आउँदा देशको सबैभन्दा ठूलो दल आफुहरु रहेको पुष्टी भएको भन्दै, दाहालले भने, ‘केही माननीय आउन बाँकी छ । ९३ जना प्रतिनिधिसभाका सदस्यले हस्ताक्षर गर्नुभएको छ र केहीले यहाँ आउने प्रतिबद्धता दिनुभको छ । हामी प्रतिनिधिसभामा ९५ भन्दा बढी हुन्छौं ।’

माफी मागे ओलीलाई पार्टीमा स्वागत गर्छौं : माधव नेपाल

प्रचण्ड– नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले शर्मा ओलीले गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीम स्वागत गरिने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव आफ्नो पक्षको संसदीय दलको बैठकमा पेस गर्दै उनले ७२ प्रतिशत सदस्य उपस्थित बैठक वैधानिक हुन्छ कि सानो गुट भेला वैधानिक हुन्छ भन्ने प्रश्न पनि गरे ।

उनले मंगलबार आफूहरुको बैठकमा ७२ प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको दावी गरेका थिए ।

‘हिजो केन्द्रीय समितिले उहाँलाई नेकपाको अन्तरिम विधान बमोजिम कारबाही गरेको छ । यो जानकारी संसदीय दललाई दिन चाहन्छु,’ उनले बैठकमा भनेका थिए, ‘उहाँलाई केन्द्रीय अध्यक्षबाट मात्रै हटाइएको हो, केन्द्रीय सदस्य र सदस्यबाट हटाइएको छैन । आफ्ना गल्ती स्विकार्दै माफी मागेर फर्किए पार्टीमा आउन स्वागत गर्छौ ।’

उनले संसद विघटनको निर्णय बदल्न ओलीले त्यस्तै कदम चाल्ने आफ्नो अपेक्षा रहेको पनि बताएका थिए ।

उनले राष्ट्रपतिले आफ्नो पदअनुरुपको भूमिका निर्वाह नगरेको बताए । ‘राष्ट्रपतिले पदअनुरूपको भूमिका निर्वाह गर्नुभएको छैन, त्यसको हामी आलोचना गर्छौं,’ नेपालले भने ।

निर्वाचन आयोग पुग्यो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

प्रचण्ड–नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णयहरु पेस गरेको हो ।

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरू ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।

बुधबार बसेको प्रचण्ड–माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो ।

यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।

को आधिकारिक छिट्टै निर्णय दिन्छौं : प्रवक्ता श्रेष्ठ

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षको निवेदनको जाँचबुझ गर्ने र छानबिन गरेर निर्णय दिने बताए ।

‘दुवै पक्षबाट आएको निवेदनको जाँचबुझ गर्ने, छानबिन गर्ने, दलको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन, राजनीतिक दलहरुसम्बन्धी व्‍यवस्था अनुसार छ कि छैन भनेर आयोगले हेर्छ’ उनले भने ।

आयोगले यस विषयमा निर्णय दिन ढिला नगर्ने पनि श्रेष्ठले बताए ।

‘तत्कालै अगाडि नबढाए निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको काम नै अवरुद्ध हुन सक्छ । त्यसैले यो छिट्टै टुङ्गिन्छ’ उनले भने ।

८ पुस २०७७, बुधवार २१:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु