ओली पक्षको गोप्य छलफल सकियो, प्रचण्ड पक्षको कुरा सुन्ने निर्णय

अनौपचारिक भनेर प्रचण्डले बैठक राख्नु सकारात्मक भएको निष्कर्ष

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको गोप्य छलफल सकिएको छ । शुक्रबार नै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकमा सहभागि नभएका ओली पक्षका नेताहरु वालुवाटारमा गोप्य छलफलमा जुटेका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको ओली इतरको बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

यता ओली पक्षको गोप्य छलफलले पनि प्रचण्ड पक्षको कुरा सुन्ने निर्णय गरेको छ ।

पाँचै जना सचिवालय सदस्यले ओलीलाई शनिबार भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गरी बैठक टुंगिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा प्रचण्डले सो अनौपचारिक बैठक पनि ओलीको समेत सहमतिमा गरिएको जानकारी गराएका थिए।

प्रवक्ता श्रेष्ठका अनुसार औपचारिक बैठक राखेमा त्यहि नै पार्टी फूटको बिन्दू हुने भनी ओलीले आफूलाई बताएका कारण अनौपचारिक बैठक राखिएको भनी प्रचण्डले सो बैठकमा अन्य नेताहरुलाई जानकारी गराएका थिए।

बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउन कसैले सोचेको भए त्यो अपराध हुने बताए। ‘पार्टी एकताको जग त्यति कमजोर छैन र कसैले त्यो सोचेको छ भने त्यो अपराध हो,’ नेता नेपालले भने।

पार्टी फुट्ने स्थिति आए तपाईं प्रचण्ड वा ओली कुन पक्षतर्फ हो भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘म ओली वा प्रचण्ड कतैतिर होइन, म नेकपातिर हो।’ प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकबाट सर्वसम्मत् गरिएका निर्णय कार्यान्वयनमा समेत समस्या आएपछि आफूहरुले अध्यक्ष ओलीलाई यसअघि पनि पटक पटक मौखिक तथा लिखितरुपमा समेत बैठक राख्न आह्वान गरेको समेत बताए।

ओली पक्षको भेलामा पनि प्रचण्डले बोलाएको अनौपचारिक बैठकको विषयमा छलफल भएको जनाइएको छ । औपचारिक नभनेर अनौपचारिक भनेर प्रचण्डले बैठक राख्नुलाई सकारात्मक रुपमा लिइएको ओली पक्षको भेलामा सहभागि एक नेताले बताए ।

२१ कात्तिक २०७७, शुक्रवार १९:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु