प्रचण्ड कोरोना कन्ट्याक्ट ट्रेसिङमा परेपछि ओलीलाइ तनाव !

प्रचण्डको केही दिनमा पीसीआर टेस्ट गरिने

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण प्रधानमन्त्री केपी शर्मा ओली–प्रचण्डबीच भेटघाट हुन नसकेको जनाएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कात्तिक ११ गते कोरोना संक्रमण देखिएपछि प्रचण्ड ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका हुन् ।

‘पार्टीका नेता जनार्दन कमरेडलाई कोरोना संक्रमण देखिएपछि अध्यक्षज्यू प्रचण्डसहित सबै कन्ट्याक्ट ट्रेसिङमा हुनुहुन्छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘त्यसकारण उहाँ र प्रधानमन्त्रीबीच भेटघाट हुन नसकेको हो ।’

प्रचण्डको केही दिनमा पीसीआर टेस्ट गरिने उनले जानकारी दिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको घटनाले नेकपाका शीर्ष नेताका बीचमा विवाद देखा परेको छ । त्यसपछि अहिले ओली–प्रचण्डबीच संवादहीनताको अवस्था छ ।

तर, दुई अध्यक्षबीच बोलचाल बन्द भएपछि अहिले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको सक्रियता बढेको छ । ओली र प्रचण्डबीच भेटवार्ताको वातावरण सिर्जना गर्न ओली पक्षका नेता कहिले बालुवाटार त कहिले खुमलटार धाइरहेका छन् । नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल ओली पक्षको छलफलपछि प्रधानमन्त्री ओलीको सन्देश लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए । तर, प्रचण्ड भने, उक्त सन्देशबाट सकारात्मक नदेखिएको स्रोतको भनाइ छ ।

यस्तोमा ओली तनावमा परेका हुन् ।

ओलीले एकलौटी रूपमा पार्टी सञ्चालन गर्न खोजेको, स्थायी कमिटी बैठकको आदेश अवज्ञा गरेको आरोप लगाउँदै कार्यशैली नसच्याएसम्म संवाद हुन नसक्ने अडान प्रचण्डले लिएको स्रोतको दाबी छ ।

प्रचण्डको जवाफपछि नेता पोख्रेलले आफ्नो समूहका नेताहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले अहिले गरेको मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई ओलीपक्षका कतिपय नेताहरूले समेत मन पराएका छैनन । अर्का अध्यक्षसँग सल्लाह नगरी गरेका कारण समस्या उत्पन्न भएको टिप्पणी उनीहरूले गरेको नेकपाका एक नेताले बताए ।

१४ कात्तिक २०७७, शुक्रवार २१:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु