प्रचण्डले रोकिदिए- नयाँ मन्त्रीको सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हाललाई रिक्त रहेको तीनवटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने र थप पुनर्गठन दशैं–तिहारपछि गर्न मनाएका छन् ।

तर, ती तीन मन्त्रालयमा मन्त्री बनाउने व्यक्ति चयन गर्ने विषयमा अझै कुरा मिलिसकेको छैन् ।

अर्थ, शहरी विकास र सूचना तथा सञ्चार प्रविधि जस्ता महत्वपूर्ण मन्त्रालय लामो समयदेखि रिक्त छन्। पार्टीका महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई रिक्त मन्त्रालयमा सपथ खुवाउने तयारी छ ।

पाण्डेले अर्थ र शर्माले गृह दाबी गरेका छन् । नेताहरुले शक्तिशाली मन्त्रालयमा दाबी गरिरहेकै बेला ओलीले तीनै जनालाई तत्काल सपथ खुवाउने र पछि जिम्मेवारी दिने तयारी गरेका थिए ।

प्रचण्डले त्यसो नर्गन र मन्त्रालय कुन कुन हो टुङ्ग्याएर मात्रै सपथ खुवाउन आग्रह गरेपछि सपथ रोकिएको छ । ‘मन्त्रालय टुङिगएपछि सपथ हुन्छ’ स्रोतले भन्यो ।

डा. युवराज खतिवडालाई निरन्तरता दिने प्रयास विफल भएदेखि नै प्रधानमन्त्री ओलीले अर्थमा विष्णु पौडेललाई लैजाने मनस्थिति बनाएका छन्।

एउटै मन्त्रालयमा दुईजनाको दाबी परेपछि मन्त्री टुंगो लगाउने विषयमै कुरा रोकिएको स्रोत बताउँछ।

‘रिक्त मन्त्रालयमा पौडेल, पाण्डे र शर्मालाई लैजाने दुबै अध्यक्षबीचमा सहमति जुटिसकेको थियो,’ ओलीनिकट स्रोतले भन्यो, ‘तर, प्रस्तावित नेताहरुले मन्त्रालय रोजेका कारण रोकिएको छ।’

कार्यकारी अध्यक्ष प्रचण्डनिकट स्रोतले पनि शर्माले अर्थ वा गृह पाउनुपर्ने अडान राखेको बतायो।

‘पार्टी एकतादेखि पार्टीभित्र संकट उत्पन्न हुँदा समेत मैले नेतृत्वकै पक्षमा मरिमेटेर लागेको छु,’ शर्माले ओली–प्रचण्डसँग भनेको कुरा उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘नेतृत्वले मेरो इमान्दारिता देखेको हो भने योगदानको मूल्याङ्कन गरोस्, यो पटक अर्थ वा गृहमध्ये एउटा मन्त्रालय देओस्।’

आइतबारको सचिवालय बैठकपछि लगातार छलफलमा बसेका अध्यक्षद्वयले माधव नेपाल समूहको समेत प्रतिनिधित्व गर्नेगरी तीन मन्त्री नियुक्त गर्न लागेका हुन्। ओलीनिकट पौडेल, नेपाल समुहका पाण्डे र पूर्वमाओवादी नेता शर्मालाई मन्त्री बनाउँदा तीनै पक्ष समेत समेटिन्छ।

‘रिक्त मन्त्रालयमा लैजाने नामबारे सहमति जुटेपनि सम्बन्धित व्यक्तिले एउटैमा दाबी गरेपछि अध्यक्षद्वयलाई सोहि विषय टुंग्याउन सकस परेको छ’, ओलीनिकट एक नेताले भने।

यसअघि तीन मन्त्रीमात्र नियुक्ति गरेर जाने र तिहारपछि पूर्णरुपको मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रचण्ड असहमत थिए। प्रचण्डले रिक्त रहेका मन्त्रालयसहितको समग्र पुनर्गठन नै एकमुष्ट गर्न जोड गरिरहेका थिए।

तर, पहिलो चरणमा रिक्त रहेको मन्त्रालयमा मन्त्री बनाउने र तिहारपछि पूर्णरुपमा पुनर्गठन गर्न प्रधानमन्त्रीले जोड गरेपछि प्रचण्डले ‘त्यसो भए तपाईको तर्फबाट काम अगाडि बढाउनुस्’ भनी सहमति जनाएको उनीनिकट नेताहरु बताउँछन्।

तीन जना मन्त्री बनाएपछि फेरि पुनर्गठन होला भन्नेमा प्रचण्डलाई आशंका थियो। ‘तर प्रधानमन्त्रीले महासचिव पौडेल र जनार्दन शर्माकै अगाडि गर्छु भनेपछि सहमत हुनुभएको हो,’ एक स्थायी समिति सदस्यले भने।

दुई नेताले चयन गरेका तीन नेताले नै मन्त्रालयमा असहमति जनाएपछि अर्को अप्ठेरो आइलागेको बालुवाटारनिकट नेताहरुको भनाइ छ।

‘अब उहाँहरुलाई कुर्ने कि अरु नै बनाएर जाने भन्ने निर्णय भइसकेको छैन तर, विकल्पमाथि छलफल हुन थालेको छ,’ एक स्थायी समिति सदस्यले भने।

प्रस्तावित व्यक्ति चयन गरेपछि फेरि मन्त्रालयमा विवाद सुरु भएका कारण केहि दिन लाग्न पनि सक्ने देखिएको छ। ‘कुनै ढंगबाट जुट्छ कि हेरौं नत्र अन्य विकल्पहरुबारे पनि छलफल हुनसक्छ,’ ती नेताले भने।

प्रचण्डनिकट अर्का एक नेताले पौडेल, पाण्डे र शर्मालाई मन्त्री बनाउन दुवै नेताबीच सहमति भएको हुँदा मन्त्रालयको विषय मिल्नासाथ तत्काल तीन मन्त्री थपिन सक्ने बताए।

असोज मसान्तभित्र पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउनेबारे पनि दुई अध्यक्ष र महासचिवले तयारी गरिरहेका छन्।

नेकपाका तीन आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुंगो लगाउन बाँकी छ।

‘असोज अन्तिममा सबै सकिन्छ, हामीले सहमति गरेरै गरिरहेका छौ’, महासचिव पौडेलको भनाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो।

नयाँ ३ मन्त्रीको सपथको तयारी

२४ असोज २०७७, शनिवार ०९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु