क्रान्तिकारी शक्तिहरुबीच नयाँ आधारमा एकताको पहल

११ पार्टीहरू एकतामा जुट्दै

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू, राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीलगायत विषयमा समान धारण बनाउँदै नेपालका १४ वटा
राजनीतिक पार्टीले कार्यगत एकता गरेर सङ्घर्षका कार्यक्रम अघि बढाइरहेका छन् ।

देशमा १० वर्षसम्म चलेको जनयुद्धले राज्यसत्ताको उपरिसंरचनामा व्यापक उथपपुथल
ल्याए पनि जनयुद्ध उत्कर्षमा पुग्दै गरेको बेला यसका मुख्य मानिएका नेता प्रचण्ड र बाबुरामहरू संसदीय बाटोमै पतन हुन पुगेको १४ पार्टीको बुझाई छ ।

पछिल्ला समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा
(क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपालगायत पार्टीहरू देशका जल्दाबल्दा विषयमा कार्यगत एकता
गर्दै अघि बढिरहेका छन् । यो समयमा कार्यगत एकता मात्र नभएर बृहत् क्रान्तिकारी धु्रवीकरणको आवश्यकता भएको महसुस भएको नेताहरुले बताएका छन् । यसैका पक्षमा वातावरण पनि बलियो बन्दै गएको छ ।

सञ्चारमाध्यमहरूमा विप्लव, वैद्य, मोहनविक्रमलगायत नेताहरूबीच निरन्तर
संवाद भैरहेको विषय सार्वजनिक भैरहेको बेला हालै मात्र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका थिए ।

विप्लवले प्रस्ट रूपमा दलाल पुँजीवादी सत्ताको असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन भएकोमा जोड दिएका छन् । देशका सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले
राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी भएकाले सबैलाई यस दिशामा अग्रसर हुन उनले विशेष आग्रह गरिरहेकै बेला उता नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले पनि सच्चा कम्युनिस्टहरूबीचको एकता आजको ऐतिहासिक आवश्यकता भएको निष्कर्ष निकालेका छन् ।

पार्टीनिकट एक अनलाइनलाई दिएको अन्तर्वार्तामा किरणले आफ्नो पार्टीले नयाँ जनवादी क्रान्तिका पक्षधरसहित सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउनका लागि सक्दो प्रयास र पहल गर्दै आएको र अहिले कतिपय पक्षमा वातावरण पनि बलियो बन्दै गएको बताएका छन् ।

किरणले आफ्नो पार्टीले नयाँ जनवादी क्रान्तिका पक्षधरसहित सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउनका लागि सक्दो प्रयास र पहल गर्दै आएको र अहिले कतिपय शक्तिहरूसित सङ्घर्षका लागि कार्यगत एकता पनि हुँदै आएको बताएका छन् ।

नेपालका विभिन्न पार्टीहरूमा क्रान्तिकारीहरू रहेको भन्दै उनले कतिपयले एकताप्रति चासो नदिए पनि विभिन्न पार्टीभित्र रहेका क्रान्तिकारीहरूको ठूलो हिस्सा क्रान्तिकारी ध्रुवीकरणका पक्षमा रहेको पनि बताएका छन् । उनले अर्थपूर्ण शब्द प्रयोग गरेका छन्, ‘कतिपय पक्षबाट एकीकरण होइन, ध्रुवीकरणमा विशेष जोड दिइयो । कतिपय सोचाइहरू पार्टी एकताका
लागि बाधक बन्दै आएका छन् तर यति हुँदाहुँदै पनि हाम्रो पार्टीले पार्टी एकताका लागि अझै पहल गर्नुपर्छ भन्नेबारे आवश्यक ध्यान दिँदै आएको छ ।’

यस्तै अर्को कम्युनिस्ट घटक नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले पनि देशभित्रका सबै क्रान्तिकारी शक्तिहरूबीच सहकार्य र एकता प्रक्रियाका लागि सकारात्मक छलफलहरू हुने गरेको भन्दै यो वर्तमानको टड्कारो आवश्यकता भएको बताएका छन् ।

हालै कट्टेलले आफ्नो पार्टी, विद्रोही नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) र मसालले पार्टी एकताको स्तरसम्म छलफल चलाएको भए पनि ४ पार्टीको सहकार्यमा केही व्यवधान खडा भएको तर लामो संवाद र छलफलपछि फेरि अहिले आफ्नो पार्टीसहित ११ पार्टीहरू कार्यगत एकतामा जुट्ने सहमतिमा पुगेको बताएका छन् ।

धु्रवीकरणका विषयमा छलफलहरू चलिरहेको भए पनि अहिलेको परिस्थितिमा सत्ताविरुद्ध रहेका कम्युनिस्ट पार्टीहरूब्ीाच रणनीतिक चरित्रको संयुक्त मोर्चा बनाउने प्रक्रिया पनि अगाडि बढिरहेको कट्टेलको भनाइ छ । उनले भनेका छन्, ‘क्रान्तिकारी शक्तिहरूको सहकार्य र एकताप्रक्रिया सार्थक रूपमा अगाडि बढिरहेको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रस्ट भनेका छन्, ‘ठोस रूपले भन्दा सात सालदेखि पूर्ण प्रजातन्त्रका पक्षमा सङ्घर्षरत प्रजातन्त्रवादीहरू, झापा विद्रोह, जनयुद्धभित्र
योगदान गरेका तर आजको परिस्थितिबाट सन्तुष्ट नरहेका कम्युनिस्ट क्रान्तिकारीहरू, बर्सौंदेखि देशको रक्षामा समर्पित हुँदै आएको देशभक्त शक्ति जो जहाँ भए पनि देशलाई रूपान्तरण गर्ने नयाँ जिम्मेवारी बहन गर्न एक हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ र हुने आधार पनि देखिएका छन् । उपयुक्त समय आएपछि सबै खुसीका साथ क्रान्तिमा सहभागी बन्नेछन् ।

यसैमा हामी इमानदारीपूर्वक पहल गर्दैछौँ ।’ वर्तमान अवस्थामा सीमा समस्या, अमेरिकी परियोजना एमसीसी, कोरोना महामारीमा सरकारले बेहोरेको असफलतालगायत विषयमा यी पार्टीहरूका बीचमा समानखाले धारणा बन्दै गएका छन् ।

२४ असोज २०७७, शनिवार ०८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु