आक्रमण हुन थालेपछि शंकर पोखरेल सुटुक्क काठमाडौं आए

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल एकाएक काठमाडौं आएका छन् ।

राजधानीको बिषयले रुपन्देहीमा आन्दोलन चर्किन थालेपछि उनी प्रधानमन्त्रीसंग परामर्श गर्न काठमाडौं आएको बताइएको छ ।

प्रदेश ५ को राजधानी दाङमा सार्ने अन्तिम तयारीमा जुटेका मुख्यमन्त्री पोखरेल थप परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार काठमाडौँ आएका हुन्।

बुटवलबाट राजधानी सार्नेमा पार्टीभित्रै एकमत नभएको बेला राजधानी बुटवलमै राख्नुपर्ने पक्षमा रहेका नेकपा महासचिव बिष्णु पौडेल समेत संकटमा परेका छन् ।

मन्त्रिपरिषद पुनर्गठन गर्दा पौडेललाई अर्थमन्त्री दिएर थामथुम पार्ने पक्षमा रहेका प्रधानमन्त्री ओलीले राजधानी दाङ लैजाने सहमति मुख्यमन्त्रीलाई दिएको बुझिएको छ ।

यसअघि पनि पार्टीभित्र विवाद हुँदा पोखरेललाई मुख्यमन्त्री दिएर अस्थायी राजधानी बुटवल राख्ने सहमति भएको थियो । राजधानी र विष्णु पौडेलको बारेमा पनि मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीसंग छलफल गर्ने बुझिएको छ ।

आइतबार प्रदेशसभामा प्रस्तुत हुने राजधानी सार्ने प्रस्ताव सोमबारसम्म पारित गर्ने र आन्दोलनलाई साम्य पार्न पौडेललगायतले पहल गर्ने तयारी भइरहेको बुझिएको छ।

अस्थायी राजधानी रहेको बुटवलमै प्रदेश राजधानी हुने अपेक्षा स्थानीय तथा त्यहाँका नेताहरुले गरेको स्थितिमा दाङमा राजधानी लैजाने निर्णय आएपछि यसको सर्वत्र चर्चा भैरहेको छ भने रुपन्देहीमा आन्दोलन नै चर्किएको छ ।

१९ असोज २०७७, सोमवार ०६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु