लुम्बिनी र भालुवाङको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको निर्देशन

१४ जना सांसदको असहमति

प्रदेश नं ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी शुक्रबार प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्विीप लगाउने निर्णय गरेको छ।

मुख्यमन्त्री निवासमा शनिबार बसेको दलको बैठकले प्रस्तावका पक्षमा मतदान गर्ने सर्बसम्मत निर्णय गरेको नेकपाका सचेतक भुमिश्वर ढकालले जानकारी दिए।

बैठकमा रुपन्देही, नवलपरासी, पाल्पा र कपिलबस्तुका १४ जना सांसदले भने स्थायी राजधानी बुटवलनै उपयुक्त भएको भन्दै लिखित असहमति जनाए।

सांसदहरु भोजप्रसद श्रेष्ठ, कृष्णप्रसाद न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, बिमला पन्थी, थानकुमारी थापा, तुलसीप्रसाद चौधरी, युवराज खनाल, नारायणप्रसाद आर्चाय, रमा घर्ती मगर, पुरन बज्राचार्य, धर्मबहादुर लाल श्रीवास्तव, बिष्णुप्रसाद पन्थी र फौजिया मियाँले सरकारको प्रस्तावप्रति लिखित असहमति जनाएका हुन्।

रुपन्देही, नवलपरासी र पाल्पाका सांसदले प्रदेश सरकारका लागि पूर्वाधारमा करोडौं खर्च भइसकेको र जनसंख्या, पूर्वाधार लगायतका दृष्टिकोणले रुपन्देही नै राजधानीका लागि उपयुक्त रहेकाले पुर्नबिचार गर्न आग्रह गरे।

रुपन्देहीका सांसद दधिराम न्यौपानेले सरकारले ल्याएको प्रस्ताव प्रति आफ्नो गम्भीर असहति रहेको बताए। पार्टीले ह्विीप नै जारी गरेको अवस्थामा भने पार्टी निर्देशन मान्न बाध्य हुने तर्क पनि उनले गरे।

कपिलबस्तुका सांसदले कपिलबस्तु नै राजधानीका लागि उपयुक्त भएको भन्दै पुर्नबिचारको माग गरे। सांसद बिष्णु पन्थीले जनसंख्या, भुगोल, जग्गाको उपलब्धता र एतिहासिकताको दृष्टिकोणले कपिलबस्तु सबैभन्दा उपयुक्त रहेको अडान दोहोर्याए।

पन्थीले संघीयताको मर्म अनुरुप विकासमा पछाडी परेको कपिलबस्तुलाई नै राजधानी घोषणा गर्नु पर्ने तर्क सुरुदेखि गर्दै आएका छन्। उनले पार्टीको हवीप नमान्ने र संसोधन प्रस्ताव दर्ता गर्ने सम्बन्धमा कानुनी परामर्स गरीरहेको पनि बताए।

बुटवल पक्षधरहरुले प्रस्तावप्रति असहमति जनाएपछि दलका नेता तथा मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिँदै सदनमा पेश भएको प्रस्ताव पास गराउन आग्रह गरेका थिए।

सरकारले दीर्घकालिन सोचका साथ सो प्रस्ताव ल्याएको भन्दै मुख्यमन्त्रीले प्रस्ताव समर्थन गर्नु पार्टीका सबै माननीयको दायित्व भएको भनाइ राखेको बैठकमा सहभागी सांसदले बताए। ६१ जनामध्ये बैठकमा ५७ जना सांसदको उपस्थिती थियो। जसमा १४ जनाले मात्रै प्रस्ताव प्रति असहमति जनाएका हुन्। गुल्मी र अर्घाखाँचीका सांसद तटस्थ बसे। दाङ, रोल्पा, रुकुम, बाँके, बर्दिया, प्युठानका सांसदले प्रस्तावको स्वागत गरे।

केही सांसदहरुले राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएपनि पार्टीको निर्देशन विपरित नजाने र प्रस्तावलाई दुई तिहाइले पास गर्ने निर्णयमा सबैको सहमति रहेको सचेतक ढकालले बताए। सोमबार १९ गते बस्ने प्रदेश सभा बैठकमा प्रस्तावका सम्बन्धमा छलफल हुनेछ। सोमबार छलफल सकेर मंगलबार नै प्रस्तावलाई सदनबाट पारित गर्ने तयारी गरीएको छ।

शुक्रबार प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको राप्ती उपत्यकाको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन्। बुद्ध जन्मस्थल लुम्बिनीबाट प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरीएको छ। राजधानीका लागि हालको अस्थायी मुकाम बुटवल र दाङका बीच सुरुदेखि नै बिबाद छ। तर नाम लुम्बिनीका सम्बन्धमा अहिले सम्म बिबाद देखिएको छैन।

यो प्रदेशमा सांसद संख्या ८७ छ। नेकपाका ६१, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनमोर्चा र राजपाका १र१ जना छन्।

१८ असोज २०७७, आइतवार १०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु