भीम रावल भन्छन्- प्रधानमन्त्रीको एकलौटी कदमले पार्टी निर्णय उल्लंघन भयो

नेकपा नेता भीम रावलले सल्लाह गरेर महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने गर्ने स्थायी समिति र सचिवालयको निर्णय उल्लंघन भए पार्टीमा फेरि संकटको पुनरावृत्ति हुने चेतावनी दिएका छन्।
पार्टीमा सल्लाह नै नगरी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको प्रस्तावमा बिहीबार बिहान मन्त्रिपरिषद्ले तीन देशका लागि राजदूत र मुख्य सचिव नियुक्त गरेपछि रावलले यसअघि जस्तै पार्टीमा अविश्वास पैदा हुने चेतावनी दिएका हुन्।
रावलले भदौ २६ गते स्थायी समिति र २९ गते बसेको सचिवालय बैठकको निर्णयसमेत स्मरण गराएका छन्। उनले पार्टी निर्णयको उल्लंघन नगर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।
रावलले ट्वीटरमा लेखेका छन्, ‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ। देश,जनता र पार्टी हितमा आघात पर्नसक्छ। जिम्मेवारहरूको ध्यान जाओस्।’
मन्त्रिपरिषद् पुनः गठनका विषयमा दुई अध्यक्षबीच कुरा नमिलिरहेका बेला ओलीले एकलौटी रुपमा मुख्य सचिवबाट लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यस्तै पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका सल्लाहकार युवराज खतिवडालाई अमेरिका र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।
बैठकले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको थियो।पार्टीमा छलफल नै नगरी ओलीले नियुक्त गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि असन्तुष्टि जनाएका छन्।
१७ असोज २०७७, शनिवार १४:३४ बजे प्रकाशित