मन्त्रिपरिषद बैठक सकियो : नाष्टको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्त

मन्त्रिपरिषद बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।
मन्त्री अर्यालकाअनुसार बाढी पहिरोमा परेकाहरूको उद्धार, राहत तथा आर्थिक सहयोगको बारेमा नियमितझैँ छलफल र निर्णय भएको छ ।
त्यस्तै, नेपाल-इजरायल सरकारबीच दुई देशको हितमा हुने विभिन्न सम्झौता र सहमतिमा हस्ताक्षर गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई दिने निर्णय पनि सरकारले गरेको मन्त्री अर्यालले जानकारी दिइन्।
मन्त्रिपरिषद् बैठकमा अन्य नियमित कार्यसूचीमा छलफल र निर्णय भएको मन्त्री अर्यालले जानकारी दिइन्। निर्णयबारे विस्तृत जानकारी सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्रीले पछि गराउने उनले बताइन् ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान पनि बालुवाटारमा छलफल भएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि भएको दुई अध्यक्षबीचको छलफलले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य गरेको अनुमान गरिएको छ ।
पार्टीको सचिवालय बैठकले पार्टीको साङ्गठनिक एकताको बाँकी काम टुङ्ग्याउने ठोस आधार तयार गर्न अध्यक्षद्वयलाई १० दिनको जिम्मेवारी दिएको छ ।
त्यसको टुङ्गो असोज १६ भित्र लगाई सक्नुपर्ने छ । दुई अध्यक्षबीचको छलफल त्यही विषयमा गृहकार्य गरिरहेको बालुवाटार श्रोतको भनाइ छ ।
११ असोज २०७७, आइतवार २१:१३ बजे प्रकाशित