प्रचण्डलाई एकल कार्यकारी अधिकार दिन ओली सहमत

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार भएको भेटमा एजेण्डाबारे सहमति जुटेको हो ।

‘कार्यदलको प्रतिवेदनअनुसार नै उहाँहरुले प्रस्ताव बनाउनु भएको छ’ स्रोतले भन्यो, ‘कार्यकारी अध्यक्षको जिम्मेवारीसम्बन्धी प्रस्तावमा मूलतः शब्द हटेको छ ।’

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनमा यो प्रतिनिधिसभाको कार्यकालभर अध्यक्ष ओलीले नै सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने भनिएको छ ।

प्रचण्डको अधिकारबारे कार्यदलको प्रतिवेदनमा भनिएको छ, ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णय कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।’

तर मूलतः पार्टी सञ्चालन गर्ने भनेकोमा वरिष्ठ नेता माधवकुमार नेपालले त्यसमा प्रश्न उठाएका थिए । पछिल्लो सचिवालय बैठकमा नेता नेपालले कार्यदलको प्रतिवेदन अपूर्ण भएको भन्दै केही प्रश्न उठाएका थिए ।

बुधबार भएको छलफलमा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिन सहमत भएका छन् ।

आफूसँग सहमति र महासचिव पौडेलसँग परामर्श गरेर पार्टी सञ्चालनको अधिकार प्रचण्डलाई दिन उनी सहमत भएका हुन् ।

त्यही सहमतिअनुसार बैठकको स्थायी कमिटी बैठकको एजेण्डा तय गरिएको छ । स्रोतका अनुसार ओली र प्रचण्ड २६ गते बोलाइएको स्थायी कमिटी बैठक छोट्याउने पक्षमा छन् ।

‘उहाँहरु एकैदिनमा बैठक सक्ने तयारीमा हुनुहुन्छ’ एक नेता भन्छन्, ‘तर बैठक सकिनेरनसकिने अरु नेताहरु कसरी प्रस्तुत हुन्छन् भन्नेमा भरपर्छ ।’

२४ भदौ २०७७, बुधवार २२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु